२४ घन्टामा थप ६ कोरोना सङ्क्रमितको मृत्यु, मृत्युदर शून्य दशमलव ६९ प्रतिशत पुग्यो

काठमाडौं, २ पुस । नेपालमा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप ६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ७ सय ४९ पुगेको छ । यो दर कुल सङ्क्रमितको शून्य दशमलव ६९ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २ सय ८१ जना आईसीयूमा उपचाररत छन् भने ५९ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
सबैभन्दा धेरै बागमती प्रदेशमा १ सय ११ जनाको उपचार आईसीयूमा भइरहेको छ भने २७ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै गण्डकी प्रदेशमा ८२ आईसीयू र १२ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० जना आईसीयू र ४ भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यसैगरी प्रदेश १ मा २५ जना आईसीयूमा उपचाररत रहेका छन् भने ७ जना भेन्टिलेटरमा, प्रदेश २ मा ११ जना आईसीयू र २ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ६ आईसीयू र २ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
यस्तै हाल नेपालमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ५ हजार ८ सय ८३ जना होम आइसोलेसनमा रहेका छन् ।