नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४० हजार नाघ्यो, ४ सय ४४ जना मात्रै क्वारेन्टाइनमा

काठमाडौं, २ पुष । नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९ सय ४७ जना कोरोना सङ्क्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ । यो दर कुल सङ्क्रमतिको ९५ दशमलव ५ प्रतिशत हो ।
यस्तै गत २४ घन्टामा थप ७ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६ हजार ५ सय ८८ पिसिआर परीक्षण गर्दा ३ सय ८ महिला र ४ सय ६८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।
यस्तै हाल नेपालभर ९ हजार ५ सय ८० सक्रिय सङ्क्रमित रहेका छन् भने क्वारेन्टाइनमा रहेको सङ्ख्या ४ सय ४४ मा झरेको छ ।
नेपालमा कोरोना सङ्क्रमण सुरु हुँदाको समय देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनहरुमा ५ लाखभन्दा बढी मानिसहरु थिए भने अहिले त्यो सङ्ख्या घट्दै गएको छ ।