विदेशमा करिब ५० हजार नेपालीमा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २९ मंसिर । विदेशमा अहिले सम्म करिब ५० हजार नेपालीहरू कोरोना संक्रमित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नेपाल बाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो।  

स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार ३८ जना रहेको छ। यो कुल संक्रमितको ९३  प्रतिशत रहेको हो। 

विश्वका विभिन्न २० मुलुकमा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ पुगेको छ। सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ। 

त्यस्तै संघले कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करिब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने जनाएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्युन आय आएका नेपाल जस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ। यद्यपि यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए।   

हाल विश्वभर ५८ वटा खोप कोरोनाविरुद्धका खोपको क्लिनिकल ट्रायल भइरहेको छ। तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ। अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन्। खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts