बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँके, २८ मंसिर । बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार बाँके र डोटीका एकरएकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानरपालिका ४ का ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बिहान साढे ३ बजे मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा थप समस्या आएपछि उनलाई मंसिर २७ गते भर्ना गरिएको थियो ।
यस्तै, डोटीको दिपायल सिलगडी ५ का ४९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार साँझ ६ ४५ बजे मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेजमा मंसिर २६ गते कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएकै दिन आईसीयू कक्षमा राखेर उनको उपचार थालिए पनि सोही दिन साँझ उनको मृत्यु भएको वलीले बताए ।