स्वास्थ्य क्षेत्रका विभिन्न २३ संगठनले सरकारलाई दिएको २१ दिने अल्टिमेटम भोलि सकिँदै

संयुक्त आन्दोलनको तयारी



Download our app to get more features

काठमाडौं, २७ मंसिर । स्वास्थ्य क्षेत्रका विभिन्न २३ संगठनले संयुक्त आन्दोलनको तयारी सुरु गरेको छ ।  

आफ्ना मागहरु प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै सुनुवाई नगरेको भन्दै संघले आन्दोलनको तयारी थालेको हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) का अध्यक्ष दाता राम अधिकारीले हाम्रो डाक्टर न्यूजलाई बताए । 

उनले शुक्रबार स्वास्थ्य कार्यालय काठमाडौंमा भएको उपत्यका स्तरीय अगुवा स्वास्थ्यकर्मीहरुको भेलाले माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने निर्णय गरिएको बताए ।

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सरकारले बेवास्ता गरेको भन्दै उनले  कोरोना नियन्त्रण लगायत स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्य मन्त्रालय चुकेकोमा आपत्ति जनाए । 

अधिकारीले विभिन्न २३ वटा स्वास्थ्य संगठन मिलेर संयुक्त रुपमा आन्दोलन गर्ने उल्लेख गर्दै आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने पनि बताए ।

यसअघि स्वास्थ्य क्षेत्रका २३ वटा पेशागत संघ संगठनले १८ बुँदे माग राख्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । मन्त्रालय सामु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै संगठनहरुले २१ दिने अल्टिमेटम दिएका थिए । २१ दिने अल्टिमेटम भोलि सकिँदैछ । 

कोभिड लगायत जनताको अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आईसीयू, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन् ।  

Last modified on 2020-12-12 08:47:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts