राष्ट्रिय आविष्कार केन्द्रले बनायो बेबी वार्मर, बजार मूल्यभन्दा २७ हजार सस्तो

काठमाडौं, २४ मंसिर । राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मर बिक्रि गर्न लागेको छ ।
केन्द्रले भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउने “न्यानो नानी” भन्ने सामानको विकास गरेर विक्रि वितरणका लागि पनि राखेको छ ।
केन्द्रले विकास गरेको बेबी वार्मरको गुणस्तर इन्टरनेशनल इलेक्ट्रो टेक्निक कमिसनको कोड आईईसी ६०६०१–२–२१ (International Electrotechnical Commission को Code IEC 60601-2-21) अनुसारको रहेको बताइएको छ ।
केन्द्रले बेबी वार्मर वितरण गर्नका लागि ९८४१५९२३६१ नम्बर पनि सार्वजनिक गरेको छ ।
केन्द्रले पहिलो लटको १२ वटा “न्यानो नानी” ज्योति विकास बैंकले किनेर उनीहरुले नै छानेको स्वास्थ्य चौकीमा वितरण गर्न लागेको बताएको छ । त्यसका लागि बैंकले १० लाख रुपैयाँ आविष्कार केन्द्रलाई सीएसआर अन्तर्गत दान गरेको थियो ।
केन्द्रका अनुसार भारतमा बनेको यो सामान नेपालमा पनि धेरै चलेको र हाल त्यसको ७० हजार रुपैयाँ जति खर्च लाग्छ । युरोपमा बनेका बेबी वार्मरको मूल्य भने १ लाख ५० हजार भन्दा बढी पर्ने गर्छ । तर, केन्द्रले बनाएको बेबी वार्मरले मूल्य ४३ हजार परेको छ ।
केन्द्रले हाम्रा ईन्जिनियरहरुलाई बजारमा पाइने यस्तै सामानहरु हेरेर यसको डिजाईन गर्न, बनाउन, परीक्षण गर्न र निर्माण गरेर अहिलेको अवस्थामा ल्याउन १८ महिना जति लागेको बताएको छ ।
केन्द्रका प्रमुख वैज्ञानिक महाविर पुनले अनुसन्धानकर्तालाई सहयोग गरेर विदेशी सामानहरुको आयात घटाउने मुख्य लक्ष्य रहेको बताए ।