कोभिड-१९ सम्बन्धी खोपका लागि वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागलाई जिम्मा दिइयो

काठमाडौं, २० मंसिर । सरकारले कोभिड-१९ को सम्बन्धी खोपका लागि वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागलाई जिम्मा दिएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रवार मन्त्रीस्तरीय निर्णयबाट खोप सम्बन्धी एलायन्स गाभी सँगको खोप सम्बन्धी सम्पूर्ण कार्य र वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहलाई अधिकार दिइएको छ ।
समानताको आधारमा गाभीको सक्रियतामा डब्लुएचओ र सेपी सम्मिलित कोभ्याक्स फेसिलिटीले विभिन्न कम्पनीहरुबाट उत्पादित खोपहरु सहभागि देशहरुका २० प्रतिशत जनसंख्यालाई सहुलियत दरमा खोपहरु उपलब्ध गराउने र नेपाल पनि त्यस संयन्त्रमा सहभागि भएकोले उक्त खोप प्राप्त गर्न गाभी ग्रान्टका लागि गाभीमा मंसिर २२ भित्र निवेदन पठाउन पनि बैठकले निर्णय गरेको छ ।
यस्तै, मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित गरेको छ ।
विभिन्न देशले बनाएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी हुँदै गएको र प्रयोगमा आउने देखिएपछि मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित गरेको हो ।