कोभिड खोपः भ्रम निवारण गर्ने प्रयास-माइक्रोचिप्स, डीएनए परिवर्तन र अन्य मिथ्या दाबी



Download our app to get more features

बीबीसी, १९ मंसिर । हामीले कोरोनाभाइरसविरुद्धका खोपबारे निकै धेरै शेअर गरिएका केही मिथ्या दाबीको परीक्षण गरेका छौँ ।

तिनमा खोपको नाममा आनुवंशिक कोड परिवर्तन गर्न लागिएको कुरादेखि मानिसहरूमा माइक्रोचिप्स हाल्न लागिएको दाबीसम्म छन् ।

'डीएनए परिवर्तन'का दाबी
सामाजिक सञ्जालमा बारम्बार देखिने एउटा झुट चाहिँ खोपले कुनै न कुनै रूपमा तपाईँको डीएनए परिवर्तन गरिदिन्छ भन्ने छ ।

बीबीसीले तीनजना स्वतन्त्र वैज्ञानिकहरूलाई यसबारे सोधेको छ। उनीहरूले कोरोनाभाइरस खोपले मानव डीएनए परिवर्तन नगर्ने बताए।

अहिले विकास गरिएका केही नयाँ खोपमा - हालै यूकेले स्वीकृति दिएको फाइजर/बायोएनटेकको खोपसहित - भाइरसको आनुवंशिक कण वा मेसिन्जर आरएनए प्रयोग गरिएको हुन्छ ।

"मानिसको शरीरमा आरएनए पठाउँदा त्यसले मानव डीएनएमा केही असर गर्दैन," अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक जेफ्रे आल्मन्डले बताए ।

यसले शरीरलाई कोरोनाभाइरसको सतहमा हुने जस्तै प्रोटीन बनाउन लगाउँछ । त्यसपछि मानिसको प्रतिरोध प्रणालीले त्यस्ता प्रोटीनलाई चिन्छ र तिनलाई नाश गर्ने एन्टिबडी बनाउँछ ।

कोरोनाभाइरस खोपले डीएनए परिवर्तन गर्छ भन्ने दाबीबारे हामीले गत मे महिनामै छानबिन गरेका थियौँ। त्यतिखेर एउटा भिडिओमा त्यस्तो दाबी गरिएको थियो ।

एमआरएनए प्रविधिको खोप पहिले कहिल्यै परीक्षण वा स्वीकृत नगरिएका चर्चा चलेका छन् । यो साँचो हो कि एमआरएनए खोप यसअघि स्वीकृत भएको थिएन । तर, यो विधिबारेका अनुसन्धान गत केही वर्षदेखि नै हुनथालेका थिए ।

अनि महामारी भएपछि त यसको परीक्षण हजारौँ मानिसमा गरिसकिएको छ । सबै नयाँ खोपजस्तै कोभिडका खोपहरू पनि विभिन्न चरणमा परीक्षण गरिएको छ ।

पहिलो र दोस्रो चरणमा थोरै सङ्ख्याका मानिसमा यो कत्तिको सुरक्षित छ अनि कति मात्रा उपयुक्त हुन्छ भनेर परीक्षण गरिन्छ ।

तेस्रो चरणमा हजारौँ मानिसमा यसको प्रभावकारिता जाँचिन्छ ।

बिल गेट्स र माइक्रोचिपसम्बन्धी दाबी
अर्को हल्ला वा षड्यन्त्रको दाबी संसारभरि फैलिएको छ ।

यो हल्लाले के भन्छ भने कोरोनाभाइरस महामारी एउटा गोप्य योजना हो जसको नाममा मानिसहरूलाई निगरानीमा राख्न सकिने माइक्रोचिप जडान गर्न खोजिँदैछ । यो सबै योजनाका पछाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स रहेको दाबी गरिएको छ । तर यथार्थ के हो भने कुनै खोपमा 'माइक्रोचिप' छैन र बिल गेट्सले यस्तो योजना बनाइरहेको कुनै प्रमाण छैन ।

बिल तथा मेलिन्डा गेट्स फाउन्डेशनले यो हल्ला एकदमै असत्य भएको प्रतिक्रिया दिएको छ ।

महामारीका बेला अर्बपति बिल गेट्सलाई जोडेर धेरै हल्ला फिँजिए । उनले जनस्वास्थ्य तथा खोप विकासमा गरिरहेको परोपकारका कारण पनि उनी निसानामा परेका छन् ।

भ्रूणको तन्तु प्रयोग भएको दाबी
खोपहरूमा गर्भपात गरिएको शिशुको भ्रूणको फोक्सोको तन्तु प्रयोग भएका हुन्छन् भन्ने हल्लाहरू पनि चलेका छन् । ती असत्य हुन् ।

"कुनै पनि खोप विकासको कार्यमा भ्रूणका कोष प्रयोग हुँदैनन्," साउद्‌याम्पटन यूनिभर्सिटीका डा. माइकल हेडले बताए । अक्सफर्ड र एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोपबारे खोपविरोधी फेसबुक पेजमा भिडिओ राखिएर त्यस्तो दाबी गरिएको थियो ।

यसबारे अन्योल उत्पन्न हुनुको एउटा कारण चाहिँ सम्भवतः प्रयोगशालामा खोप निर्माण गर्दा त्यहीँ विकास गरिएका कोषको प्रयोग हुनु हो । तर, यो अनुसन्धानमा कुनै भ्रूणको प्रयोग भएका छैन ।

त्यसमाथि खोप लगाउने बेलामा त्यस्ता कोषको कुनै अंश बाँकी भएको हुँदैन । अनि यी कोष पनि गर्भपात गरिएका शिशुका हुँदै हुँदैनन् ।

निको हुने दरबारे गरिएको दाबी
यदि कोरोनाभाइरसबाट ज्यान जाने सम्भावना यति थोरै छ भने किन यसविरुद्ध खोप लगाउनुपर्‍यो भन्ने प्रश्न हामी सामाजिक सञ्जालमा बारम्बार देख्छौँ ।

खोपका विरोधीहरूले शेअर गरेको एउटा मीममा कोरोनाभाइरस सङ्क्रमितमध्ये ९९.९७% निको हुन्छन् भने खोप लगाउनुभन्दा सङ्क्रमित हुनु नै सुरक्षित विकल्प हो भन्ने सन्देश दिइएको छ ।

सुरुमा उक्त मीमले 'निको हुने दर' भनेर राखेको अङ्क अर्थात् जो सङ्क्रमित भईकन पनि बाँचे त्यो सही छैन । अक्सफर्ड विश्वविद्यालयका वरिष्ठ तथ्याङ्कविद् जेसन ओक भन्छन्ः कोभिड लागेकामध्ये ९९% मानिस बाँच्छन् ।

त्यसैले १० हजार मध्ये १ सय जनाको ज्यान जान्छ - त्यो मीममा भनिएको १० हजार  मध्ये ३ जनाभन्दा यो निकै धेरै हो ।

ओक भन्छन्, "यसको जोखिम उमेरमा भर पर्छ। अनि यसले छोटो वा दीर्घकालमा पार्ने असर पनि छ ।"

केवल बाँच्नुसँग यो सम्बन्धित छैन । कैयौँ मानिसहरूलाई सघन उपचारको खाँचो पर्छ अनि कैयौँ मानिस यसको दीर्घकालीन असर बेहोर्न बाध्य हुन्छन् । यसले स्वास्थ्य सेवा प्रणाली कोभिडकै बिरामीहरूको चापमा पर्नेछ ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक लियाम स्मिथ खोप लगाउने कार्यलाई अरू मानिसको जीवनरक्षा गर्ने कार्य सरह समाजले लिनुपर्ने सुझाव दिन्छन् ।

"यूकेमा महामारीको सबभन्दा खराब असर, जसका कारण लकडाउन पनि गरियो, भनेको यसले स्वास्थसेवा अकस्मात् बेहोर्न नसक्ने चापमा पर्ने अवस्था हो । अनि धेरै उमेरका अनि सहारा केन्द्रहरूमा बसिरहेका बिरामी मानिसहरू धेरै जोखिममा छन् । भाइरसले उनीहरूलाई गम्भीर बिरामी बनाइदिने सम्भावना पनि धेरै छ ।"


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts