नेपालमा सक्रिय संक्रमितको संख्या घट्दै, देशभर १३ सय ४३ जना नयाँ संक्रमित थपिए

काठमाडौं, १८ मंसिर । नेपालमा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको छ । यो संख्या बुधवारको भन्दा ८ सय ८१ ले कम हो ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमण पछि थप २ हजार १ सय ११ जना निको भएका छन् । मन्त्रालयको अद्यावधिक विवरण अनुसार थप २ हजार १ सय ११ जना कोरोना संक्रमित स्वस्थ भएसँगै निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।
यो दर कुल संक्रमितको ९२ दशमलव ७ प्रतिशत हो । यो दर बुधवारको भन्दा माइनस शून्य दशमलव ४ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार २ सय ८९ पिसिआर परीक्षण गर्दा ५ सय ३४ जना महिला र ८ सय ९ जना पुरुषमा गरि १ हजार ३ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।