बर्दियामा नेपालकै पहिलो सिकलसेल उपचार केन्द्रको स्थापना, उपचारमा सहज हुने विश्वास

बर्दिया, १८ मंसिर । बर्दियाको बारबर्दिया नगरपालिकामा देश कै पहिलो सिकलसेल उपचार केन्द्रको स्थापना गरिएको छ । नगरपालिकाले अस्पताल निर्माण गर्न लागेको सिकलसेल उपचार केन्द्रको भवनको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले शिलान्यास गरेका छन् ।
नगरपालिकाका अनुसार नगरपालिकाको करिब चार करोड ३३ लाख ५० हजार लागतमा सिकलसेल उपचार केन्द्रको भवन निर्माण हुने भएको हो । सिकलसेल उपचार कै लागि स्थापना गर्न लागिएको यो अस्पताल नेपाल कै पहिलो उपचार केन्द्र भएको नगरपालिकाले दावी समेत गरेको छ ।
सिकल सेल रोग पश्चिम नेपालका थारु समुदायमा मात्र देखिएको वंशाणुगत रोग हो । थारुहरुको बाहुल्यता रहेकोले सिकलसेलका रोगीहरुलाई सहज उपचार गर्न सहज होस भने उपचार केन्द्रको स्थापना गरिएको बारबर्दिया नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसअघि सिकल सेल रोगको स्क्रिनिङ्ग टेस्ट गरेको थियो । स्क्रिनिङ्ग टेस्टमा एक वर्षदेखि २९ वर्ष उमेर समुहका बालबालिका तथा युवाहरुको रक्त परीक्षण गरिएको थियो । सो परीक्षणमा नगरभित्र सिकलसेल रोगी एक सय २४ जना र बाहक दुई हजार जना फेला परेका थिए ।
सिकलसेल बढ्न सक्ने अनुमान गरेर नगरपालिकाले सिकसेल र थालेसेमिया एक परिचय नामक पुस्तक समेत प्रकाशन गरेको छ । सो पुस्तक बारबर्दिया नगरपालिकामा सामाजिक विषय अन्तर्गत स्थानीय पाठ्यक्रमको रुपमाकक्षा ९ र १० मा पढाई हुन्छ ।
सिकलसेल रोगको बर्दिया जिल्लामा उपचार नहुँदा विरामीहरु नेपालगञ्ज, काठमाडौँ र भारतको लखनउ सम्म जान बाध्य थिए । बर्दियामा रोगको पहिचान नभई उपचार गराउँदा घर जग्गा नै विक्रि गरी सुकुम्बासी समेत बनेका उदाहरणहरु छन् ।
सिकलसेल रोगको पहिचान र उपचारकालागि अस्पतालको स्थापना गर्न लागिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले बताए । उनल भने – ‘थारुहरुको बाहुल्यताभएको स्थान र सिकलसेल रोगहरुको संख्या बढि भएको हुनाले समेत नेपाल मै पहिलो पटक सिकल सेल उपचार केन्द्रको स्थापना गरेका हौँ ।’ उपचार केन्द्रको भवन एक बर्षमा नै निर्माण गरी सेवा सुचारु गर्ने उनको भनाइ छ ।
उपचार केन्द्र सञ्चालनमा आएपछि थारु लगाएतका जातीहरुले जुनसुकै समयमा सिकलसेल पहिचानको लागि रगत जाँच गराउन सक्नेछन् भने सिकलसेल रोग पत्ता लागेमा उपचार पनि गराउन सक्ने बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले बताईन् ।
‘सिकलसेल रोगको उपचार भन्दापनि रोग लाग्नै नदिने उपाए अपनाउनु पर्छ ।’ उनले भनिन् –‘त्यसको लागि रक्त परीक्षण गरी सिकल सेल रोगी, सिकलसेल रोग बाहकहरुबीच विहेबारी रोक्नु पर्छ त्यसका लागि पनि उपचार केन्द्रले सहयोग पुर्याउने छ ।’
थारु जातिमा विवाह हुनुपुर्व सिकल सेल परिक्षण गरी त्यसको आधारमा विवाह गर्न प्रोत्साहन गर्ने नगरपालिकाको योजना रहेको छ । उपचार केन्द्रमा जुनसुकै समयमा थारु युवाहरुले निःशुल्क रक्त परिक्षण गर्न पाउने छन् । सिकल सेल रोग बाहक बाबु आमाबाट जन्मेको बच्चामा जटिल रोग देखिने चिकित्सकहरु बताउँछन् ।
उपचार केन्द्रको भवन निर्माणको लागिकरीब ६ करोड ३७लाख ४८ हजार लागतअनुमान गरीएको छ । भने उक्त भवन निर्माणको लागि ४ करोड ३३ लाख ५० करोडमा कैलालीको टि डि आर कन्ट्रक्सन प्रालि ले जिम्मा लिएको छ । भवन २०७८ पुस ११ गतेसम्म निर्माण सकिसक्ने लक्ष्य लिइएको छ ।