के सरकारले कोरोनाबारेको तथ्यांक लुकाएको हो ? यसो भन्छन् सह प्रवक्ता अधिकारी

काठमाडौं, १७ मंसिर । कोरोना महामारी सुरु भएदेखि नै तथ्यांकलाई लिएर सँधै बहस हुँदै आएको छ ।
माघमा पहिलो पटक नेपालमा कोरोना संक्रमित फेला परेको थियो । त्यसपछि पनि नयाँ संक्रमित थपिँदा सरकारले त्यसलाई सुरुमा गलत भन्ने र दुई दिनपछि फेरि नयाँ संक्रमित फेला परेको भनेर सार्वजनिक गर्ने गर्थ्यो ।
चैतमा लकडाउन भएपछि विस्तारै नेपालमा कोरोना संक्रमितको दर बढ्न थाल्यो । कोरोना संक्रमितको दरसँगै वैशाखदेखि कोरोनाका कारण मृत्यु हुने क्रम सुरु भयो । अस्पतालहरुले सार्वजनिक गर्ने तथ्यांक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने तथ्यांक फरक पर्ने गरेको थियो ।
यो क्रम अझैपनि जारी छ भने सरकारमाथि कोरोनाबारेको तथ्यांक लुकाएको भनेर आरोप पनि लाग्ने गरेको छ ।
नेपालमा मंगलवारसम्म २ लाख ३४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । तर, संक्रमित र मृत्यु हुनेको वास्तविक तथ्यांक सरकारले सार्वजनिक नगरी लुकाएको भनेर बेला बेलामा सुन्ने गरिन्छ ।
तर, स्वास्थ्य मन्त्रालयले भने सरकारले कुनैपनि तथ्यांक नलुकाएको दावी गर्छ । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले तथ्यांक समयमै आउन ढिलाई हुँदा मात्रै तथ्यांक अद्यावधिक गर्न समस्या हुने गरेको तर तथ्यांक लुकाउने काम भने नभएको बताए ।
हाम्रो डाक्टर न्यूजसँगको कुराकानीमा उनले भने, ‘तथ्यांक लुकाएर सरकारले के पाउने हो र ? हो कहिलेकाहि तथ्यांक सम्बन्धीत क्षेत्रबाट अद्यावधिक गर्नमा ढिलाई भयो भने केन्द्रसम्म आइपुग्न ढिलाई हुन्छ । तर, कोरोना सम्बन्धी तथ्यांक लुकाइएको भने छैन ।’
बिरामीको मृत्युको तथ्यांक सरकारले लुकायो भनेर आरोप लगाइन्छ जसको कुनै आधार छैन भन्दै डा. अधिकारीले बिरामीको मृत्यु पश्चात कहिलेकाहीँ कोरोना पुष्टि हुने अर्थात् रिपोर्ट मृत्यु पश्चात आउने हुँदा त्यो तथ्यांक अद्यावधिक गर्न समय लाग्ने गरेको उल्लेख गरे ।
उनले होम आइसोलेसनमा बसेका बिरामीलाई कोरोनाको कुनैपनि किसिमको समस्या नदेखिने तर एक्कासी श्वासप्रश्वासमा समस्या देखिँएर अस्पताल पुर्याउँदै गर्दा कतिपय अवस्थामा बाटोमै मृत्यु हुने गरेकाले पनि त्यो तथ्यांक अद्यावधिकमा समय लाग्ने गरेको बताए ।
बिरामीको मृत्यु भएको वा बिरामी थपिएको विषयमा अस्पताल, प्रयोगशाला, फोकल पर्सन, स्थानीय सरकारले तथ्यांक अद्यावधिक गरेपछि मात्रै केन्द्रमा पठाउने हुँदा ढिलाई भएको भएपनि तथ्यांक भने लुकाउने काम नभएको डा. अधिकारीले बताए ।
कोरोना महामारीको तथ्यांक लुकाएको भन्दै यसअघि ब्राजिल, चीन, भारत लगायतका सरकारमाथि पनि आरोप लगाइएको थियो । वास्तविक तथ्यांक सार्वजनिक भएको भन्दा बढी रहेको आँकलन गरिको थियो । तर, सबै सरकारले आरोपलाई अस्विकार गरेका थिए ।