बैतडीमा १० दिन लकडाउन हुने

बैतडी, १६ मंसिर । बैतडीको डिलाशैनी गाउँपालिकामा १० दिनका लागि लकडाउनहुने भएको छ ।
मंगलबार एकैदिन गाउँपालिका क्षत्रमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले संक्रमण थप फैलन नदिन बुधबार देखी १० दिनका लागि लकडाउन घोषणा गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेका छन्।
पालिकामा थप संक्रमण फैलन सक्ने देखिएपछि विपद् व्यवस्थापन समितिको निर्णयलाई कार्यान्वयन गर्दै लकडाउन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत शाहले बताए ।
लकडाउनको अवधिमा छोटो तथा लामोदुरीका सवारी साधन सञ्चालनमा रोक लगाइने छ भने गाउँपालिका तथा वडा बाट प्रदान हुने आकस्मिक बाहेकका सबै सेवा बन्द हुने उनले बताए।
लकडाउन पछि गाउँपालिकाका सवै शैक्षिक संस्था बन्द भएका छन् । लकडाउन संगै दुई व्यक्ति एक ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको शाहले बताए ।
लकडाउनको अवधिमा दैनिक उपभोग्य पसलहरु बिहान ८ बजेदेखि ९ बजेसम्म खुल्ला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा बित्तीय संस्थाहरु हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ ।