नेपालमा एक बर्षमा एचआइभी संक्रमणबाट ७३९ को मृत्यु, हालसम्म ३० जना  कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, १५ मंसिर । नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमण सरेको अध्ययनले देखाएको छ। 
३३औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसारनेपालमा हाल १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिला गरी २९ हजार ५ सय ३ जना एचआइभी संक्रमित रहेको केन्द्रको अनुमान छ।

यस्तै, नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमित कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ। संक्रमित सबै जना हाल उपचारपछि निको भइसकेका छन्। कोरोना महामारीका कारण उनीहरुको उपचार सेवामा कुनै प्रभाव नपरेको केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले बताइन्। लकडाउन तथा महामारीको समयमा पनि एचआइभी संक्रमितहरुले खाने औषधि एआरटी घर–घरमा पुर्‍याउने व्यवस्था गरिएको उनले जानकारी दिइन्। 

नियमित औषधि सेवन नगर्ने र लुकेर रहेका एचआइभी संक्रमितहरु मात्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको उनले बताइन्। सावधानी अपनाउन आवश्यक रहे पनि नियमित औषधि सेवन गर्ने र निरन्तर चिकित्सकको परामर्शमा रहने एचआइभी संक्रमित कोरोनाबाट डराइहाल्नु नपर्ने उनको भनाइ छ।  

सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभी संक्रमणको दर समूहभन्दा उच्च रहेको केन्द्रले जनाएको छ। २०७७ सालको असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार ४ सय १० अर्थात् ६६ प्रतिशत मात्र एआरभी उपचारमा छन्। 

सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ। ८० वटा एआरटी केन्द्रबाट निशुल्क औषधि वितरण भइरहेको केन्द्रले जनाएको छ। 

यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन भएको केन्द्रले जनाएको छ। जसमध्ये औषधि र औषधिजन्य सामग्रीका लागि मात्र ८५ प्रतिशत बजेट खर्च हुने गरेको छ। 

एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारा सहित मंगलबार विश्व एड्स दिवस मनाइँदैछ।
नेपालमा एचआइभी नियन्त्रणका कार्यक्रम सुरु भएको तीन दशक नाघिसकेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts