देशभर एकैसाथ ३ सय ९ वटा आधारभूत र ३ प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास गरियो

काठमाडौं, १५ मंसिर । देशभर एकैसाथ ३ सय ९ वटा आधारभूत अस्पतालहरुको शिलान्यास गरिएको छ ।
स्वास्थ्य क्षेत्रको क्रान्ति भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा सात प्रदेशमा गरि ३ सय ९ आधारभूत अस्पतालको शिलान्यास गरिएको हो ।
सरकारले सोमवार देशभरका ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने भनेपनि ३ सय ९ अस्पतालको मात्रै शिलान्यास सम्पन्न भएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताए ।
उनले केहि स्थानमा अस्पताल कहाँ राख्ने भन्ने विषयमा विवाद रहेका कारण शिलान्यास हुन नसकेको भन्दै त्यसको विकल्प पनि छिटै खोजिने बताए ।
यस्तै सात प्रदेशमध्ये ३ प्रदेशमा सरुवा रोग अस्पतालको पनि शिलान्यस भएको छ भने एक आकस्मिक विभागको पनि शिलान्यास सम्पन्न भएको छ ।
डा. अधिकारीले शिलान्यास गरिएका अस्पतालहरु अबको दुई वर्षसम्ममा निर्माण भइसक्ने र सेवा सुचारु गरिसक्ने बताए ।
सरकारले तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ भने अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान गरिएको पनि अधिकारीले बताए ।
चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्न लागिएको हो ।
सरकारले पाँच शय्याको अस्पताल निर्माण गर्न आठ करोड, १० शय्याको अस्पतालका लागि ११ करोड र १५ शय्याका अस्पताल निर्माणका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् ।
तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ । सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धीत स्थानीय तहमा पठाइसकेको छ ।