कोरोना महामारी विरुद्धको लडाईंमा स्वास्थ्यकर्मीसहित सरकार निरन्तर लडिरहेको छः मन्त्री ढकाल

काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना महामारीको समयमा नेपालले अन्य मुलुकको तुलनामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताएका छन् ।
चितवनस्थित भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास गर्न सोमवार चितवन पुगेका मन्त्री ढकालले अब देशका कुनै पनि पालिका अस्पताल बिहीन नहुने बताए । उनले एकैसाथ देशभर ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने कुरा सुनिश्चित गर्ने पनि बताए ।
उनले भने, ‘हामीले भनेर होइन काम गरेर देखाउँछौं । यस्तो विषम परिस्थितिमा पनि अस्पतालहरु धमाधम शिलान्यास गरेर काम अघि बढाएका छौं ।’
उनले आफ्नो पालामा मात्रै २ सय बढी पालिकामा अस्पताल निर्माणका लागि स्वकृती दिएको भन्दै कतिपय पालिकामा जग्गाको समस्याका कारण अस्पताल निर्माण हुन नसकेकोले त्यसका लागि पनि सरकारले आवश्यक व्यवस्था गरेको बताए ।
देशभरका अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले बजेटको व्यवस्था गरेको मन्त्री ढकालले जानकारी दिए ।
गरिब र विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले काम गरिरहेको भन्दै उनले शिलान्यासहरु शिलान्यासमा मात्र सीमित नभई कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
‘कोरोनापछि झन् हामीले पाठ सिक्ने अवसर मिल्यो’, उनले भने, ‘संघमा ३ सय शय्याको र प्रदेशमा ५० शय्याको ल्याबसहितको सरुवा रोगको उपचार गर्ने अस्पताल निर्माणमा जुटेका छौं ।’
मन्त्री ढकालले जनताले छर्लङ्ग देख्नेगरी सरकारले काम गरिरहेको उल्लेख गर्दै कोरोना विरुद्धको महामारीमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी सहित सरकार निरन्तर लडिरहेको प्रष्ट पारे ।
मन्त्री ढकालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मान्यता दिनासाथ नेपालमा कोरोनाको भ्याक्सिन ल्याउने तयारी गरिरहेको बताए ।
उनले नेपालको स्रोतसाधन र क्षमता अनुसार नै कोरोना विरुद्धको अभियानमा लडेको भन्दै त्यसमा सफलता मिलेको उनले जीकिर समेत गरे । कोरोना विरुद्धको लडाइमा नागरिकले सरकारलाई साथ दिएको मन्त्री ढकालले बताए । सरकारका काममा खिल्ली उडाउनेहरु पनि अहिले कोभिड भइसकेपछि सरकारको योजना अनुरुप चलेको उनको भनाइ छ ।
सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धीत स्थानीय तहमा पठाइसकेको छ । पहिलो चरणमा ३ सय ९६ स्थानीय तहलाई पाँचदेखि १५ शय्याको अस्पताल बनाउन ६४ अर्ब नौ करोड पठाइएको छ । पाँच शय्याको अस्पतालका लागि ७० लाख रुपैयाँ, १० शयुयाका लागि ८५ लाख र १५ शय्याका लागि एक करोड पठाइसकिएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन् ।