सात प्रदेशमा सात सरुवारोग र ३ सय ९६ आधारभूत अस्पताल शिलान्यास गरिँदै

काठमाडौं, १५ मंसिर । सरकारले आज एकैपटक देशभर ४ सय ३ वटा अस्पतालको शिलान्यास गर्दै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ आज सात वटै प्रदेशमा एक÷एक वटा सरुवा रोग अस्पताल र ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले उपचारात्मक सेवामा नेपालमा यो हालसम्मकै ठूलो काम हुन थालेको बताए । उनले सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको पनि उल्लेख गरे ।
मन्त्रालयले अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागेको र यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति भनेको छ ।
अस्पताल अन्तर्गत पाँच शय्याका ५२ वटा, १० शय्याका १ सय ९ वटा र १५ शय्याका ३५ अस्पताल निर्माण गरिनेछ । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको लक्ष्य छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल, लुम्बिनी प्रदेशमा ५७, सुदूरपश्चिम प्रदेशमा ५४, प्रदेश २ र गण्डकी प्रदेशमा समान ५३–५३, बागमति प्रदेशमा ५१ र कर्णाली प्रदेशमा ४२ स्थानीय तहमा अस्पताल बनाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री विष्णु पौडेल तथा सम्बन्धीत क्षेत्रका सांसदहरु र स्थानीय तहका प्रमुखहरुले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै आजै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने सरकारको तयारी छ ।
स्वास्थ्यमन्त्री ढकालले चितवनमा निर्माण हुने सरुवा रोग अस्पताल र आधारभूत अस्पतालको शिलान्यास गर्ने छन् । मन्त्री ढकालका प्रेस संयोजक माधव प्रसाद तिवारीले मन्त्री ढकालले दिउँसो साढे १ बजे अस्पतालको भौतिक उपस्थितिमा अस्पतालको उद्दघाटन गर्ने कार्यक्रम रहेको बताए ।
उनले सबै स्थानमा अस्पतालको शिलान्यास भौतिक उपस्थितिमै मन्त्री, सांसद र जनप्रतिनिधिहरुले गर्ने पनि जानकारी दिए । तिवारीका अनुसार केही स्थानमा विवाद भएका कारण साँझसम्म मात्रै कति स्थानमा अस्पताल शिलान्यास भयो भनेर यकिन जानकारी प्राप्त हुनेछ ।
निर्माण हुने अस्पतालमध्ये पाँच शय्याको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शय्याको अस्पतालमा ३ जना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् ।