कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमणमुक्त

काठमाडौं, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
शुक्रबार फेसबुकमा रिपोर्ट अपलोड गर्दै कप्तान ज्ञानेन्द्रले आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्।
स्टार अस्पतालमा गरिएको परीक्षणमा उनको कोरोना नेगेटिभ रिपोर्ट आएको हो। आफूमा कुनै पनि लक्षण नदेखिएकोसमेत उनले जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘अहिलेसम्म मलाई कुनै पनि लक्षण देखापरेको छैन, न त कुनै जटिलता नै आइपरेको छ। डाक्टहरूसँगको सल्लाहबाट मैले आज दोस्रोपटक पिसिआर गराएँ, जसमा कोभिड नेगेटिभ देखियो।’
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणअघि गरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो। कप्तान मल्लसँगै खेलाडीहरू दीपेन्द्र सिंह ऐर र रोहित पौडेलमा समेत कोरोना संक्रमण भएको देखिएको थियो।
बिहीबारबाट नेपालले राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गरेको हो। कोरोना संक्रमणमुक्त भएसँगै ज्ञानेन्द्र प्रशिक्षणमा सहभागी हुनेछन्।