शनिबार हुने नर्सिङ लाइसेन्स परीक्षामा १३३८ जना सहभागी हुँदै

काठमाडौं, १० मंसिर । नेपाल नर्सिङ काउन्सिलको मंसिर १३ गते हुने लाइसेन्स परीक्षामा जम्मा १ हजार ३ सय ३८ जनाले मात्र फारम भरेका छन्।
काउन्सिलले करिब ३ हजार बढी परीक्षार्थी परीक्षामा सहभागि हुने अनुमान गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको प्रभावका कारण यसपटक लाइसेन्स परीक्षामा कम विद्यार्थी सहभागी हुने काउन्सिलले जनाएको छ।
परीक्षामा कम विद्यार्थी सहभागी भएपनि काठमाडौंमा मात्र परीक्षा केन्द्र राख्ने निर्णय काउन्सिलले गरेको छ। स्रोतका अनुसार काठमाडौंका तीन स्थानमा परीक्षा केन्द्र राखिने छ। तर कहाँ कहाँ भन्नेबारे काउन्सिल जानकारी गराएको छैन।
परीक्षाको एक वा दुई दिन अघि मात्र केन्द्रको नाम सार्वजनिक गर्ने तयारी भएको काउन्सिलले जनाएको छ।