वीर अस्पताल र न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक



Download our app to get more features

काठमाडौं, ९मंसिर । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाइएको छ ।

३६ औँ दिनसम्म पनि माग पूरा नगरेको भन्दै आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अस्पताल परिसरमा पदाधिकारीलाई निषेध लेखिएको कालो ब्यानर टाँगेर प्रवेशमा रोक लगाएका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडवरीका अनुसार अस्पतालका निर्देशक, न्याम्सका उपकुलपति, रेक्टर, सहायक रेक्टरलगायतलाई अस्पतालमा प्रवेशमा रोक लगाइएको हो ।

चिकित्सक र कर्मचारीले जोखिम भत्ता पाउनुपर्नेलगायतका माग राखेर गत २८ कात्तिकदेखि दैनिक साढे १० देखि साढे ११ बजेसम्म अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना तथा आन्दोलन गर्दै आएका छन् ।

त्यस्तै उनीहरुले कोरोना बीमा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलव भत्ता, औषधि खरिद खर्च, दसैँ खर्च पनि भुक्तानी गर्न माग राखेका छन् ।

चिकित्सक र कर्मचारीले गरिव र विपन्नको पहुँच पुग्ने गरी वीर अस्पतालमा पूर्ववत सेवा सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानका कर्मचारी र स्वास्थ्यकर्मीले अवकाशपछि पाउने उपदान र मासिक तलव भत्तामा नेपाल सरकार उत्तरदायी हुनुपर्ने, राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल अन्तर्गत सञ्चालन हुनुपर्ने माग समेत राखेका छन् ।

यसअघि गत २५ कात्तिकमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र पनि बुझाएका थिए ।

वीर अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघ, फ्याकल्टी डक्टर्स एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ संघ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन, अखिल नेपाल श्रमिक संघ हाल वीर अस्पतालमा आन्दोलनरत छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts