डा. केसीले सरकारी उपचार खर्च नलिने

काठमाडौं, २९ कात्तिक । डाक्टर गोविन्द केसीले सरकारले बेहोर्छु भनेको उपचार खर्च नलिने भएकाछन् । आज एक विज्ञप्ति जारी गर्दै डा. केसीले सरकारको उपचार खर्च नलिने जनाएकाहुन् । उनले भनेका छन्, ‘सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा मेरो उपचार खर्च म आफैं बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।’
उनले आफू कोरोना संक्रमित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको स्वास्थलाभको शुभकामना सन्देशप्रति खुशी व्यक्त गरेका छन्।
‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरूले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ’, उनले विज्ञप्तिमार्फल बनेका छन्।
आफूसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने र जनताले अहिलेको अवस्था भोग्नु नपर्ने उनले बताएका छन्। यसो गरे सबै जनताले कोरोना साथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क र सर्वसुलभ रुपमा स्वास्थ सेवा पाउने बताए।
‘तसर्थ हामीसँग १९औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्न म सरकारसँग आग्रह गर्दछु। मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु’, उनले भनेका छन्।