कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पताललाई पत्राचार

काठमाडौं, २७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई पत्राचार गरेको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएर कात्तिक २४ गतेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराएको हो । उक्त मन्त्रिपरिषद् बैठकले सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।
अब सरकारी प्रयोगशालामा कोरोना संक्रमणको लक्षण वा चिह्न भएकाहरुको परीक्षण निःशुल्क हुनेछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ओपीडीमा चिकित्सक वा स्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो एक सय डिग्री फरेनहाइट वा सो भन्दा बढी तथा कोभिडका अन्य लक्षण भएकाहरुको निःशुल्क पिसिआर परीक्षण हुनेछ ।
यस्तै कोरोना संक्रमणको लक्षण भएका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।
कोरोना परीक्षण र उपचार सेवा लिने व्यक्तिले कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा सबै परीक्षण र उपचार खर्च बीमा रकमबाट कट्टा गरिनेछ ।