राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती शुक्रवार मनाइँदै, विभागले निकाल्यो मोबाइल एप

काठमाडौं, २७ कात्तिक । आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाले यस वर्षको धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसलाई मेरा स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मूलमन्त्रका साथ मनाउने भएको छ ।
दिवसको पूर्वसन्ध्यामा विभागले जीवनशैली परीक्षण तथा स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरेको मोबाइल एप समेत सार्वजनिक गरेको छ ।
विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले मोबाइल एप सार्वजनिक गर्दै सो भित्र प्रयोगकर्ता आफैले एपमा सोधिएका प्रश्नहरुको उत्तर दिएर जीवनशैली परीक्षण गर्नसक्ने सुविधा रहेको बताए । साथै मोबाइल एप्लिकेशनमा योग अभ्याँस, जडिबुटी र घरेलु उपचारका बारेमा पनि सामाग्रीहरु संग्रहित गरिएको उनले जनाए ।
एण्ड्रोइड र आइओएस दुवै प्रविधिमा रहेको मोबाइल एप्लिकेशन प्रयोग गरेर आफ्नो स्वमूल्यांकन र आरोग्य जीवनशैलीका लागि उपयुक्त सुझाव र सल्लाह लिन विभागले सबैलाई आग्रह गरेको छ । साथै शुक्रबार मनाइँदै गरेको आरोग्य दिवस तथा धनन्वन्तरी जयन्तीको अवसरमा बोल्दै महानिर्देशक उपाध्यायले धन्वन्तरी एक भगवानमात्र नभई आयुर्विज्ञानका अनुसन्धाता र वैज्ञानिक रहेको बताए ।
स्वस्थ जीवनशैली अपनाउनका निम्ति योग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सहायक हुने भन्दै कार्यक्रममा विभागले हालै जारी गरेको कोभिड १९ को रोकथामका उपाय तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिकाका बारेमा पनि जानकारी गराइएको थियो ।
विभागले हालसम्म हजारौं कोभिडका बिरामीले आयुर्वेदको सेवा र परामर्श लिएको भन्दै आयुर्वेदिक औषधिका पनि प्रतिअसर हरु हुने भन्दै विशेषज्ञ चिकित्सकको परामर्शमा मात्र औषधि सेवन गर्न अनुरोध गरेको छ ।
अर्को एक प्रसंगमा विभागका चिकित्सक एवं नेपाल आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले आयुर्वेदका नाममा हुने भ्रामक प्रचार नपत्याइ आयुर्वेदिक काउन्सिलमा दर्ता भएका चिकित्सकको मात्र सुझाव र सेवा लिन अनुरोध गरे ।
आयुर्वेदका नाममा गलत उपचार विधि अवलम्बन गर्नेहरुलाई कार्वाहीका लागि संघले सिफारिस गरेको पनि उनले जानकारी दिए ।