कोरोनाको लक्षण देखिएकालाई मात्रै नि:शुल्क परीक्षण र उपचार गरिने

काठमाडौं, २६ कात्तिक । कोरोना भाइरसका कुनै पनि लक्षण देखिएकाहरुलाई मात्रै नि:शुल्क परीक्षण र उपचार गरिने भएको छ ।
कोरोनाका लक्षण नदेखिएका व्यक्तिको परीक्षण र उपचार नगरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको उपचार निःशुल्क व्यवस्था गर्ने गरी निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयको स्पष्ट बेहोरा अझै नआइसकेको हुँदा मन्त्रालयले यसबारे अझै मातहतका अस्पतालहरूलाई जानकारी गराएको तर पत्राचार नगरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाताएकाछन् ।
सरकारी अस्पतालका साथसाथै सरकारले सम्झौता गरेका मेडिकल कलेज र निजी अस्पतालमा पनि लागु हुने सहप्रवक्ता डा.गौतमको भनाई छ ।
कोरोना बिमा गरेका व्यक्तिको उपचार खर्च सोही बिमाबाट कट्टी गरिने व्यवस्था रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालको क्याबिनमा शुल्क तिरेर उपचार लिन्छु भन्ने बिरामीको हकमा शुल्क तिरेर उपचार पाउँछन् । तर त्यसबाहेकका अन्यमा लक्षण छ भने त्यसको उपचार सरकारले गर्छ ।
अस्पतालमा आइसोलेसनमा बस्नुपर्दा दैनिक तीन हजार पाँच सय रुपैयाँ खर्च लाग्ने हुन्छ भने मध्यमखाले गम्भीर बिरामीका हकमा दैनिक रु सात हजार र गम्भीर बिरामीका हकमा दैनिक रु पन्ध्र हजार खर्च लाग्ने मन्त्रालयले जनाएको छ । मध्यम गम्भीर र गम्भीर बिरामीका हकमा दुई साताभन्दा बढी अस्पताल बसाइ हुन सक्ने मन्त्रालयले जनाएको छ ।
एकजना कोरोना संक्रमित कम्तीमा पनि दुई साता अस्पताल बस्नुपर्ने आकलन सहितको प्रस्ताब मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको बताइएको छ । यसअघि असोज १५ गते शुल्क लिएर कोरोना भाइरस परीक्षण र उपचार नगर्न सरकारका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक तेस्रो साता सर्वोच्चमै निर्णय पुनरावलोकन गर्न निवेदन दिएकोमा सर्वोच्चले त्यसलाई खारेज गरिदिएको थियो ।