संक्रमित बढेपछि धनगढीको कोरोना अस्पतालमा ५० शय्या थपिदै



Download our app to get more features

धनगढी, २५ कात्तिक । कोरोना संक्रमितका लागि धनगढीमा स्थापना गरेको कोभिड अस्थायी अस्पताल भरिएपछि प्रदेश सरकारले शय्या थप्ने तयारी गरिएको छ ।

५० शय्याको अस्थायी अस्पताल संक्रमितले भरिएपछि थप संक्रमितको उपचारमा चुनौती थपिएका बेला प्रदेश सरकारले शैया विस्तार गर्न लागेको हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कोभिड अस्थायी अस्पतालमा थप ५० शय्या विस्तार गर्न प्रक्रिया थालिएको जानकारी दिए ।

कार्कीका अनुसार सहरी विकास तथा भवन निर्माण कार्यालयले शैया विस्तारका लागि आवश्यक पर्ने भवन निर्माणका लागि प्राविधिक अध्ययन थालेको छ । कार्यालयले शुक्रबार सम्म अध्ययन गरेर लागत स्टमेट पेश गरेपछि अन्य प्रक्रिया थालिने कार्कीले बताए ।

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको कोभिड अस्थायी अस्पतालमा ५१ जना संक्रमितको उपचार भइरहेको छ । ५० शय्या क्षमता रहकोमा ५१ संक्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जटिल अवस्थाका १५ जनाको सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ । १० शय्याको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पीक व्यवस्था गर्दै २० शय्याको बनाएको छ तर अस्पताल भर्ना भएका १५ जना संक्रमितलाई आईसीयूमा राखेपछि अब ५ वटा वैकल्पीक शय्या मात्र खाली छन् ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालका शैया संक्रमितले भरिएछि अब आउने संक्रमितलाई कसरी उपचार सेवा दिने भन्ने चुनौती अस्पताल सामू उभिएको छ ।

सुदूरपश्चिममा धनगढीको कोभिड अस्थायी अस्पताल सहित विभिन्न १८ अस्पतालमा ३ सय १० आईसोलेसन वेड छन् । अहिले सेतीमा ५१ सहित ८६ संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् ।

अन्यत्रका अस्पतालमा तत्काल आईसीयू र भेन्टिलेटर सेवाको उपलब्धता नहुँदा उपचारका लागि सेती प्रादेशिक अस्पतालमै पठाउने गरिएको छ ।  सामाजिक विकास मन्त्रालयले भने अन्य अस्पतालमा पनि भेन्टिलेर र आईसीयू सेवा उपलब्ध भएपनि जनशक्ति अभावका कारण समस्या भएको दावी गरेको छ ।

मन्त्रालयका प्रवक्ता कार्कीले जनशक्ति अभावमा भएका उपकरण समेत सञ्चालन गर्न नसकिएको बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts