देशभर ४ सय ९४ जना कोरोना संक्रमित आइसियुमा र भेन्टिलेटरमा

काठमाडौं, २४ कात्तिक । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ९४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ८३ जना भेन्टिलेटरमा र ४११ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २ सय चारजना आइसियु र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आइसियु र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा १५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।
मन्त्रालयका अनुसार आइतबार ४ सय ८० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए। पछिल्लो केही दिन यता गम्भीर कोरोना संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयकै तथ्यांकले पनि देखाउँछ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ।
आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय २६ पुगेको छ।