कोरोना महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन हेपोनको माग

काठमाडौं, २४ कात्तिक । नेपाल स्वास्थ्यकर्मी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
संघले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै कोरोना महामारीमा खटिएका सबै स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन माग गरेको हो ।
स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन नसक्ने गरी विभिन्न निर्देशिकाहरु बनेको भन्दै संघले आपत्ति समेत जनाएको छ ।
१३ बुँदे ज्ञापन पत्र बुझाउँदै संघले सबै स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने गरी निर्देशिकामा व्यवस्थापन गर्न, संघीय सरकारले गरेका निर्णयहरु सबै तहका सरकार र व्यवस्थापक वा सञ्चालकहरुले कम्तीमा पनि लागू वा कार्यान्वयन गर्ने व्यवस्था गर्न माग गरेको छ ।
यस्तै संघले वीर अस्पतालका आन्दोलित कर्मचारीहरुको मागहरु अविलम्ब पुरा गर्न समेत सरकारसँग माग गरेको छ ।
कोरोना महामारी रोकथाम नियन्त्रणका लागि शंकास्पद, संभावित र पुष्टि भएका बिरामीहरुको केस अनुसन्धान र निजका कन्ट्याकमा आएको व्यक्तिहरुको खोज पड्ताल गर्नका लागि तयारी गरिएको टिमको न्यूनतम सेवा सुविधा संघीय सरकारबाट हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
स्वास्थ्यकर्मीका लागि छुट्टै आइसोलेसन र अस्पतालको व्यवस्थापन हुनुपर्ने, ज्यान जोखिममा परेका स्वास्थ्यकर्मीका परिवारलाई राहतको विशेष व्यवस्था हुनुपर्ने, स्वास्थ्यकर्मीका लागि घोषणा गरेको बिमाको भुक्तानी गर्ने कार्य सहज बनाउनुपर्ने माग संघले अघि सारेको छ ।
स्वास्थ्यका कर्मचारीहरुको विभेदपूर्ण समायोजन गरेको भन्दै संघले समायोजन व्यवस्थापन र स्तरवृद्धिका सबै कार्यहरु तत्काल अगाडी बढाउन पनि माग गरेको छ ।