दार्चुलाको मार्मामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा, अब उपचारका लागि बाहिर जान नपर्ने

दार्चुला, २३ कात्तिक । दार्चुलाको मार्मा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पतालको उद्दघाटन गरिएको छ । कोरोना भाइरसबाट संक्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले लटिनाथमा ५ शय्याको कोभिड –१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिह धामीले उद्दघाटन गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि मार्मा गाउँपालिकाले अस्पतालको उद्दघाटन गरेको हो । जिल्लाका ६ वटा स्थानीय तहले अझै अस्पतालको उद्दघाटन गर्न सकेका छैनन् ।
मार्मा गाउँपालिकाले भने अस्पतालको सम्पूर्ण कार्य पूरा गरी आइतबारदेखि औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिए । अस्पतालको व्यवस्थापकीय कार्य पूरा गरि सेवा सञ्चालनमा ल्याएर उद्दघाटन गरिएको छ ।
१० लाखको लागतमा बनेको अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स, र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ ।
अस्थायी कोभीड अस्पातल सञ्चालनका लागि आएको १० लाख बजेट मध्ये स्थानीय तहहरुले ५ लाख बेड लगायतका सामग्री खरीदमा खर्च गर्नुपर्नेछ भने ५० हजार बराबरको औषधि खरीद गर्नुपर्नेछ ।
यस्तै ४ लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ । यी अस्पताल ३ महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थाहरुमा यी अस्पतालहरु सञ्चालन गर्नुपर्ने बताइएको छ ।