चिसोमा कोरोनासँगै अन्य स्वास्थ्य समस्याको जोखिम उच्च, सावधानी अपनाउन चिकित्सको सुझाव

काठमाडौं, २३ कात्तिक । पछिल्लो समय देसैभर चिसो बढेको छ । चिसो बढेसँगै कोरोना सङ्क्रमणदर अझ बढ्ने र बिरामीलाई बढी समस्या हुन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन ।
कोरोना सङ्क्रमित हुने क्रम रहिरहँदा चिसो पनि बढ्न थालेकाले कोरोनाको जोखिमसँगै अरु विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनएकाछन । विभिन्न देशमा गरिएको अध्ययनमा जाडो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको डाक्टर पुनले बताए ।
जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने उनको भनाई छ । अहिले मौसमी फ्लुका बिरामी पनि भेटिन थालेका छन । यस्तै रुघाखोकी लाग्ने, बालबालिकामा पखाला लाग्ने लगायतका स्वास्थ्य समस्या पनि देखिन थालिसकेको उनले बताए । कोरोना र मौसमी फ्लुको लक्षण लगभग मिल्दोजुल्दो हुने भएकाले नआत्तिन तर सरसफाइ र सावधानी भने निरन्तर अपनाउन उनको आग्रह छ ।
पछिल्लो समय अहिले कतिपय कोरोना सङ्क्रमण भएर उपचार गराइरहेका बिरामीमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या धेरै आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए ।
यो समयमा बालबालिका, वृद्धवृद्धा तथा मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, श्वासप्रश्वास, दमका रोगीलाई बढी सताउन सक्छ । दीर्घरोगीलाई झनै असर गर्ने भएकाले हेरचाहमा बिशेष ध्यान दिन उनले सुझाव दिएकाछन् । अरू बेलाभन्दा शरीरको प्रतिरोध क्षमता जाडोमा कमजोर हुने र कम घाम लाग्ने भएकाले शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने उनले बताए ।
सामान्य रुघाखोकी लागेको छ भने घरमै बाफ लिने, तातोपानी पिउने लगायतका उपचार गर्न सकिन्छ । लामो समय समस्या देखिएमा र अवस्था जटिल बनेमा भने घरमा नै नबसेर अस्पताल जान डा.भण्डारीको सुझाव छ ।