बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँके, २१ कात्तिक । बाँकेमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा दाङका एकरएकजना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–१० की २० वर्षीया सुत्केरी महिलाको शुक्रबार दिउँसो मृत्यु भएको उनले बताए । प्रसुति सेवाका लागि उनी १६ कात्तिकमा अस्पतालमा भर्ना भएकी थिइन् । त्यसको भोलिपल्ट डेलिभरी भएपछि उनको स्वास्थ्यमा अचानक समस्या आएको थियो ।
१८ कात्तिकमा कोरोना परीक्षण गर्दा सोही दिन संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको कोभिड युनिटमा सारिएको थियो । आइसोलेसन कक्षमा अक्सिजन सपोर्ट दिएर उपचार गरिएको भएपनि शुक्रबार दिउँसो ३ः२० बजे उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।
यस्तै, दाङको लमही नगरपालिका–१० का ६४ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उपचारको क्रममा राति ९ बजे उनको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि १३ कात्तिकमा कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।