सात महिनादेखि थन्कियो वीरको अक्सिजन प्लान्ट

जडानकर्ता भन्छः सामान नआएर मर्मत गर्न ढिलाई भयो



Download our app to get more features

काठमाडौं, २१ कात्तिक । वीर अस्पतालमा अक्सिजन प्लान्ट ७ महिनादेखि बिग्रिएको छ ।

गत चैतमा बिग्रिएको अक्सिजन प्लान्ट अलपत्र परेपछि सेवाग्राही समस्यामा परेका छन् ।

देशकै जेठो अस्पताल वीरले विपन्न बिरामीलाई सेवा दिँदै आएकोमा कोभिड महामारीबीच  अक्सिजन प्लान्ट मर्मत नहुँदा समस्यामा परेको छ ।

अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीले अक्सिजन प्लान्ट मर्मतका लागि मेडोक्सीलाई पटक पटक भन्दा पनि आज भोली गर्दै कुरा टालिरहेको बताए ।

हाम्रो डाक्टरसँगको कुराकानीमा उनले अक्सिजन प्लान्टको एयर कम्प्रेसर बिग्रिएपछि जडान गर्ने कम्पनी मेडोक्सीलाई जानकारी गराउँदा सामान बाहिरबाट मगाउनु पर्ने भएकाले समय लाग्ने भन्दाभन्दै समय मात्रै खेर फालेको बताए ।

डा.सेञ्चुरीले अक्सिजन प्लान्ट मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग पनि समन्वय भइरहेको र आज टेक्निसियनहरु अस्पताल आउने जानकारी गराए ।

यता अक्सिजन प्लान्ट जडान गर्ने मेडोक्सिका निर्देशक ठाकुर भण्डारीले अस्पताल परिसरमा अक्सिजन प्लान्ट जडानको उचित स्थान नहुँदा धुलोधुवाँयुक्त ठाउँमा जडान गर्दा बिग्रिएको बताए । 

उनले अक्सिजन प्लान्ट मर्मतको काम सामानहरु आउनासाथ सुरु हुने बताए । उनले ग्यारेन्टीभन्दा पनि अक्सिजन प्लान्ट जडानका लागि उचित स्थान अभावले पनि बिग्रिएको बताए । यसका लागि सामान विदेशबाट ल्याएर काम छिट्टै सुरु गरिने जानकारी गराए । 

२०७४ मा दुई करोड ६६ लाख रुपैयाँमा खरिद गरेर जडान गरिएको अक्सिजन प्लान्ट गत चैतमा बिग्रिएको थियो । दैनिक एक सय ५१ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने सो प्लान्ट अहिले अस्पताल परिसरमा अलपत्र छ ।

डा.सेञ्चुरीका अनुसार अहिले अस्पतालले दैनिक ९० देखि १ सय सिलिन्डर अक्सिजन किनेर चलाइरहेको छ । जसका कारण अस्पताललाई थप आर्थिक भार परिरहेको छ ।

स्रोत अभावमा रहेको वीरले सरकारसँग ३२ करोड रुपैयाँ मागेको थियो । जम्मा दुई करोड मात्र पाएकोले आर्थिक रूपमा प्राथमिकता नै छुट्याउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । 

Last modified on 2020-11-06 11:53:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts