चितवनमा साउनयता १ सय ६५ जनामा स्क्रब टाइफस, ३३ जनामा डेङ्गु संक्रमण



Download our app to get more features

चितवन, २० कात्तिक । चितवनमा कोरोना संक्रमणसँगै स्क्रब टाइफस र डेङ्गुको बिरामी समेत बढेका छन् । 

साउन १ गतेदेखि हालसम्म १ सय ६५ जनामा स्क्रब टाइफस र ३३ जनामा डेङ्गु देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार त्यसमध्ये जिल्लाभित्रका ७९ जनामा स्क्रब टाइफस र २७ जनामा डेङ्गु देखिएको हो । बाँकी भने विभिन्न जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका मध्येका हुन् ।

तिवारीका अनुसार भरतपुर महानगरपालिकामा ४२ जनामा स्क्रब टाइफस र १५ जनामा डेङ्गु संक्रमण देखिएको छ । त्यस्तै, रत्ननगर नगरपालिकामा १० जनामा स्क्रब टाइफस र ५ जनामा डेङ्गु, राप्ती नगरपालिकामा ९ जनामा स्क्रब टाइफस र १ जनामा डेङ्गु संक्रमण देखिएको हो । 

त्यसैगरी खैरहनी नगरपालिकामा १० जनामा स्क्रब टाइफस र ३ जनामा डेङ्गु, माडी नगरपालिकामा ७ जनामा स्क्रब टाइफस र १ जनामा डेङ्गु, कालिका नगरपालिकामा २ जनामा डेङ्गु र जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा एकजनामा स्क्रब टाइफस देखिएको छ ।

जिल्लामा कालिका नगरपालिकामा स्क्रब टाइफस र इच्छाकामनामा गाउँपालिकामा डेङ्गु साउन देखियता कसैलाई पनि नदेखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले जानकारी दिए ।

स्क्रब टाइफस छुचुन्द्रो, मुसा लगायतमा पाइने ‘माइट’ भनिने किर्नाले टोक्दा मानिसमा सर्छ । यो किर्ना विशेषगरी चौर, झारपात, पुरानो काठ, घास आदिमा पाइन्छ । 

त्यस्तै डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । खासगरी स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट यो रोग मानिसमा सर्ने गर्छ । डेङ्गुभएकालाई टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts