कोरोना संक्रमणपछि पनि बन्दैन शरीरमा 'एन्टीबडी', हर्ड इम्यूनिटिको विकल्पमा जानु चिन्ताजनक

काठमाडौं, २० कात्तिक । कोरोना संक्रमण सुरु भएको १० महिना पूरा भइसकेको छ । यो अवधिमा विश्वका अपवाद बाहेक सबै जसो मुलुक संक्रमणको चपेटामा आइसकेको छ । एकपछि अर्को गर्दै कोरोनाको चपेटामा सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरु पनि परिसकेका छन् ।
१० महिनाको समयमा विश्वका ४ करोड ८४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने १२ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । अझैपनि संक्रमण फैलिने क्रम जारी छ र आउने समयमा संक्रमणको दर अझ बढ्न सक्ने विश्व स्वास्थ्य संगठनसहित विश्वका विभिन्न वैज्ञानिक र चिकित्सकहरुले चेतावनी दिएका छन् ।
हालसम्म कोरोना भाइरस विरुद्धको कुनैपनि खोप बनिसकेको छैन भने खोप कहिलेसम्म आइसक्छ त्यसको पनि यकिन हुन सकेको छैन । विभिन्न मुलुकले खोपको परीक्षण गरिरहेको छ । तर, खोप कतिको प्रभावकारी छ त्यस विषयमा ठोस नतिजा निस्कन सकेको छैन ।
सुरुदेखि नै कोरोना भाइरस नयाँ भएको र यसले समय सँगसँगै आफूलाई परिवर्तन गर्दै गइरहेको तथा नयाँ नयाँ तथ्य फेला परिरहेकाले गत वर्ष डिसेम्बरमा देखिएको कोरोना भाइरसको आधारमा खोप बनाउनु उचित हुन्छ वा हुँदैन त्यो पनि यकिन भन्न नसकिने स्वास्थ्य विज्ञहरु बताउँछन् । यस अवस्थामा कोरोना महामारीको अन्त्यका लागि खोप बाहेकको अर्को विकल्प भनेको हर्ड इम्यूनिटि हुन सक्ने भनेर वैज्ञानिकहरुले नै आँकलन गरे । तर, वैज्ञानिकहरुको आँकलन कतिको उचित हुन्छ वा हुँदैन त्यो पनि चिन्ताको विषय छ ।
यसै क्रममा स्वास्थ्य विज्ञहरुले हर्ड इम्यूनिटिलाई लिएर पनि चिन्ता व्यक्त गरेका छन् । चीनको वुहानमा पहिलो पटक कोरोना भाइरसको सुरुवात भएको थियो । त्यहि गरिएको एक अध्ययन अनुसार ४ प्रतिशतभन्दा पनि कममा एन्टीबडि विकास भएको पत्ता लागेको छ । जुन चिन्ताको विषय हो । यसको अर्थ वुहानका नागरिकले अझै कोरोना विरुद्धको इम्यूनिटि प्राप्त गर्न सकेको छैन ।
चीनको वुहान मात्रै होइन बेलायतमा पनि गरिएको एक अध्ययनमा ४० प्रतिशत मानिसमा कोरोना विरुद्धको एन्टीबडी विकास नभएको पाइयो ।
जनस्वास्थ्य विज्ञ डा.सुरेश तिवारीले कोरोना संक्रमण भइसकेपछि मानिसको शरीरमा विकास हुने एन्टीबडी विकास हुन समय लाग्ने बताए । उनले कोरोना संक्रमण भइसकेका व्यक्ति एन्टीबडी विकास नभएर पनि निको हुने गरेको पाइएको बताए ।
डा. तिवारी भन्छन्, ‘पछिल्लो समय विभिन्न अध्ययनहरुले पनि कोरोना संक्रमित व्यक्तिमा एन्टीबडी विकास हुन्छ भन्ने निश्चित नरहेकाले हर्ड इम्यूनिटिको विकल्पको बारेमा सोचिहाल्नु अवस्था उचित छैन । हुन त एक पटक संक्रमणपछि दोहोर्याएर उनमा संक्रमण हुन्छ भन्ने एकदमै नगन्य रहेको छ ।’
भाइरस नै नयाँ भएका कारण भाइरस संक्रमणपछि एन्टीबडी बिनापनि मानिस स्वस्थ हुनु सकारात्मक पक्ष रहेको भन्दै डा. तिवारीले दोहोर्याएर संक्रमणको सम्भावना न्यून भएपनि ढुक्क हुन सक्ने अवस्था भने नरहेको प्रष्ट पारे ।
डा. तिवारीका अनुसार रोगसँग लड्ने वा भाइरस विरुद्ध लड्न सक्ने एन्टीबडी बिना नै मानिस स्वस्थ भइरहेको विषय राम्रो हो । तर, यदि यसरी नै मानिसको शरीरमा एन्टीबडी नै विकास भएन भने आउने दिनमा भाइरसले कस्तो स्वरुप देखाउने त्यो चिन्ताको विषय हो ।
वुहानमा गत वर्ष डिसेम्बरमा कोरोनाको पहिलो केस पत्ता लागेको थियो । जसकारण वुहानलाई कोरोनाको इपिसेन्टर पनि मानिन्छ । कोरोनाका सबै बिरामीमा लक्षण देखा नपर्ने हुनाले अनुमान लगाइन्छ कि वुहानका पनि अधिकांश मानिसहरु कोरोना संक्रमित भएका थिए ।
तर, जामा नेटवर्क ओपनमा प्रकाशित एक अध्ययनका अनुसार वुहानका प्रायःजसो मानिसमा कोरोनाको इम्यूनिटी पाइएन भने इम्यूनिटि विकास भएकाहरुमा पनि निकै कम मात्रामा इम्यूनिटि थियो । यस अध्ययनपछि हर्ड इम्यूनिटीको विकल्प काम नलाग्ने देखिएको छ ।
विश्व स्वास्थ्य संगठनले पनि केहि समय अगाडी कोरोना महामारी अन्त्यका लागि हर्ड इन्यूनिटिमा जानु उचित नहुने बताएको थियो । कुल जनसंख्याको दुई तिहाईमा कोरोना संक्रमण भएपछि दोहोर्याएर संक्रमण हुने दर कम भएकाले वैज्ञानिकहरुले हर्ड इम्यूनिटिको विकल्प उत्तम हुने बताएको बेला विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको थियो ।
चीनको तोङ्गजी हस्पिटलसँग सम्बन्धीत अनुसन्धानले २७ मार्चदेखि २६ मेसम्म वुहानको ३५ हजारभन्दा बढी मानिसको एन्टीबडीजको जाँच गरेको थियो । जसमा पहिले कोरोनाको पुष्टि भएको थिएन । तीमध्ये कसैमा पनि आईजीएम एन्टीबडीज पाइएन । आईजीएम एन्टीबडीज संक्रमण भएको तुरुन्त मानिसको शरीरमा विकास हुन्छ । यस्तै पछि विकास हुने आईजीजी एन्टीबडीज लामो समयसम्म शरीरमा रहन्छ । करिब ३ दशमलव ९ प्रतिशत मानिसमा यो एन्टीबडीज पाइयो ।
चीन र बेलायतमा कोरोना संक्रमित व्यक्तिमा एन्टीबडी विकास नभएको बारेमा अध्ययन भएपनि अन्य मुलुकको हकमा अध्ययन हुन सकेको छैन वा नतिजा आउन बाँकी छ । त्यसकारण नयाँ भाइरसले कस्तो प्रभाव पार्छ भन्ने विषय यकिन हुन नसक्दा अझै सचेत हुनु आवश्यक रहेको छ ।