कोरोना संक्रमितलाई रेम्डिसिभर औषधिः प्रभाविकारिताबारे यकिन भन्नसक्ने अवस्था छैन



Download our app to get more features

काठमाडौं, १९ कात्तिक । महामारीको रूपमा फैलिएको नोबेल कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको १० महिनाको समयमा कुनैपनि ठोस उपचार र औषधि पत्ता लाग्न सकेको छैन ।

यस अवधिमा विश्वका ४ करोड ६० लाखभन्दा बढी संक्रमित भइसकेका छन् । यस अवस्थामा बिरामीको अवस्था अनुसार उपचार हुँदै आएकोमा रेम्डिसिभर औषधिलाई विकल्पको रुपमा प्रयोग गर्दै आइएको छ । विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमित त्यसमा पनि गम्भीर प्रकृतिका बिरामीलाई रेम्डिसिभर औषधि दिएर उपचार गर्ने गरिन्छ । तर, रेम्डिसिभर औषधिले बिरामी शतप्रतिशत निको हुन्छन् भन्ने यकिन छैन ।

नेपालमा पनि कोरोना संक्रमित बिरामीको उपचारका लागि रेम्डिसिभर औषधि दिँदै आइएको छ । नेपालका विभिन्न अस्पतालहरुमा कोरोना भाइरसका कारण संक्रमित बिरामीलाई रेम्डिसिभर औषधि दिन थालिएको छ । कोरोना विशेष अस्पतालहरुका अनुसार हालसम्म जतिपनि बिरामीलाई रेम्डिसिभर औषधिले राम्रो काम गरेको छ । नेपाल सशस्त्र प्रहरी अस्पतालका कोभिड १९ संयोजक डा. प्रविन नेपालले बिरामीको अवस्था हेरेर रेम्डिसिभर औषधि चलाइने गरेको बताए ।

उनले कोरोना संक्रमित भएकामध्ये गम्भीर प्रकारका बिरामीलाई र कुनै कुनै बेला सामान्य अवस्थाका बिरामीलाई रेम्डिसिभर औषधि दिने गरेको र हालसम्म नकारात्मक प्रभाव भने नदेखिएको बताए । उनि भन्छन्, ‘कोरोना सङ्क्रमित बिरामीलाई दुई चरणमा रेम्डिसिभर औषधिको थेरापी दिइन्छ । जसमा सामान्यअवस्थामा रहेका बिरामीलाई ५ भाइल र अक्सिजनसहितको बिरामीलाई ११ भाइलदिनुपर्ने हुन्छ ।’ चितवनस्थित भरतपर अस्पतालमा रहेको कोभिड अस्थायी अस्पताल, बुटवल धागो कारखानास्थित अस्थायी कोभिड अस्पताल, नारायणी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत विभिन्न कोभिड अस्पतालमा रेम्डिसिभर औषधि कोरोना संक्रमितलाई दिने गरिन्छ ।

बिरामीलाई दिने गरिएको रेम्डिसिभरले नै कोरोना संक्रमित बिरामी स्वस्थ भएका हुन् वा होइनन् भनेर यकिन भन्न सक्ने अवस्था नरहेको चिकित्सकहरुले नै बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै नेपालमा रेम्डिसिभर औषधि प्रयोग गर्नका लागि अनुमति दिएको थियो । जसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नेतृत्वमा परीक्षणको रुपमा चिकित्सकको सिफारिसमा कोरोना संक्रमित बिरामीलाई दिँइदै । परीक्षणको नतिजा केहि समयपछि सार्वजनिक गर्ने तयारी परिषदले गरेको छ । रेम्डिसिभर औषधि बिनै पनि कोरोना संक्रमित बिरामीहरु स्वस्थ भइरहेकाले यो औषधिकै प्रभावकारिताले बिरामी स्वस्थ भएका हुन् वा होइनन् भनेर परिषदको नतिजाले मात्रै थाहा हुन्छ ।

तर, जतिपनि अस्पतालमा कोरोना संक्रमित बिरामीमा यो औषधि प्रयोग गरिएको छ त्यसले नेपालमा रेम्डिसिभर औषधिको प्रभावकारिता हो भनेर अनुमान मात्रै गर्न सकिने भरतपुर कोभिड अस्पतालका संयोजक डा. प्रमोद पौडेलको भनाइ छ । नेपालमा रेम्डिसिभर औषधि आयातका लागि भारतका तीन कम्पनीले मान्यता पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेर तोकिएका औषधि पसल र औषधि उद्योगबाट मात्रै यो औषधि चिकित्सकको सिफारिसमा खरिद बिक्रि गर्न भनेको छ ।

स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र चिकित्सकको नेतृत्वमा कोरोना सङ्क्रमितलाई आपतकालिन अवस्थामा मात्रै रेम्डिसिभर प्रयोग गर्न लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका अनुसार हालसम्म नेपालमा १५ हजार भाइल रेमडिसिभर आइसकेको छ भने बङ्गलादेशबाट १० र भारतबाट ६ हजार भाइल आउँदैछ । हाल विश्वभर १ सय ५४ वटा खोप विकास भइरहेको छ । यीमध्ये ४४ वटा खोप परीक्षणका लागि मानिसमा प्रयोग गरिएको छ । जसमा चीनले ३ वटा खोपको तेस्रो चरणको परीक्षण जारी छ भने अक्सफर्ड र अमेरिकाले पनि खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ ।

Last modified on 2020-11-04 10:52:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts