कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौ, १८ कात्तिक । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी एक हप्ताभित्र दिन निर्देशन दिएको छ।
कोरोना बीमा दावी गरेका वीमितहरुको पीसीआर परीक्षणको प्रमाणपत्र पाएको एक साताभित्र दिने व्यवस्था मिलाउन मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताए।
यसैगरी कोरोना बीमा दावी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासो समाधानका लागि हटलाइन टेलिफोन सहितको हेल्प डेस्क सञ्चालन गर्ने व्यवस्था पनि तत्काल मिलाउन निर्देशन दिएको छ।
बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो।