रौतहटमा फेरि बढ्यो कोरोना संक्रमणको दर, अवस्था हेरेर कडाई गर्न सकिने

रौतहट, १८ कात्तिक । रौतहटमा कोरोना संक्रमणको दरमा फेरि वृद्धि भएको छ ।
कोरोना महामारी सुरु भएको सुरुवाति क्रममा सबैभन्दा उच्च जोखिममा रहेको रौतहट जिल्लामा पछिल्लो केहि महिनादेखि संक्रमण दर न्यून भएकोमा अब फेरि दर बढ्न थालेको छ ।
पछिल्लो एक सातामा रौतहटमा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा फेरि संक्रमणको दरमा वृद्धि भएको हाम्रो डाक्टर न्यूजलाई बताए । उनले चाडपर्व नजिकिएसँगै मानिसहरुको आवतजावत बढेको हुनाले संक्रमणको दरमा फेरि वृद्धि भएको बताए ।
उनका अनुसार जिल्लामा नियन्त्रणमा आइसकेको संक्रमण दरमा फेरि वृद्धि हुन थालेकोले सावधानी अपनाउने विषयमा नयाँ प्रतिबन्ध लगाइने तयारी भएको छ । तर, निषेधाज्ञाभन्दा पनि मानिसहरुको भिडभाडलाई कम गर्ने, जनचेतना सम्बन्धी योजनालाई फेरि निरन्तरता दिने जस्ता काम सुरु हुनेछ ।
उनले भने, ‘तत्काल निषेधाज्ञा जारी गर्ने वा दोहोर्याएर लकडाउन गर्ने कुनै योजना नभएपनि संक्रमण दरमा वृद्धि भयो भने दोहोर्याएर अवस्था हेरेर लकडाउन लगायतका थप प्रतिबन्ध जारी गरिनेछ ।’
जिल्लामा हाल २ हजार ६४ जना संक्रमित रहेका छन् भने हालसम्म १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार कोरोना महामारी पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएको छ, तर सुरक्षाको उपाय भने अपनाएको पाइँदैन ।