अमरगढी नगरपालिकाको निःशुल्क स्वाब संकलन शिविर, नागरिकलाई छैन जानकारी

धनगढी, १७ कात्तिक । डडेल्धुराको अमरगढी नगरपालिकाको स्वास्थ्य शाखाले कोरोना परीक्षणका लागि आइतबार शिविर सञ्चालन गर्यो । ‘एक घर एक व्यक्ति’ को कोरोना परीक्षण गर्ने उदेश्यले आयोजना भएको शिविरमा १ सय जनाको कोरोना परीक्षण गर्ने लक्ष्य रहेको थियो ।
जिल्ला सदरमुकाम बजार क्षेत्रका सर्वसाधारणको कोरोना जाँच गरौ भन्ने प्रमुख जिल्ला अधिकारीको आग्रहमा बसपार्क नजिकै रहेको चिरन्जिवी पोलिक्निकमा सञ्चालन भएको शिविरमा जम्मा ३७ जनाले मात्रै स्वाब दिएका थिए । सोमबार ती मध्ये ९ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले जानकारी दिए ।
तर यतिबेला नगरपालिकाले निःशुल्क रुपमा आयोजना गरेको शिविरमा थोरै मात्रामा किन स्वाब संकलन भयो भन्ने प्रश्न सबैले तेर्साएका छन् । यसको एउटा मात्रै कारण छ, सबैलाई जानकारी नहुनु ।
यसैविषयमा बागबजारमा व्यापार गर्दै आएका व्यवसायी राजेन्द्र पनेरु भन्छन्, ‘कहाँ कुन ठाउँमा संचालन भयो स्वाब संकलन शिविर ? मैलै त स्वास्थ्य संयोजक विष्टले फेसबुकमा शिविर सम्पन्न भयो भनेर राखेको पोष्टबाट थाहा पाएको हो ।’ उनले स्वास्थ्य शाखाले जानकारी नदिएर शिविर सञ्चालन गरिनु नाटक भएको बताएका छन् ।
यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष छत्र साउदले समेत शिविरबारे जानकारी नभएको बताएका छन् । ‘जानकारी नै नभएपछि न्यून संख्या हुनु स्वभाविक हो, सूचना गर्नुपर्यो नी’ उनले भने, ‘आम नागरिकलाई सूचना पुगेन जस्तो छ । सबैलाई टेष्ट गर्न अपिल गरेर आधिकारिक संचार माध्यममा सूचना हाल्नुपथ्र्यो ।’
यस्तै सदमुकामकै पत्रकार शेर भण्डारीले उक्त शिविर गोप्य रुपमा आयोजना भएको आरोप लगाएका छन् । ‘गोप्य रूपमा शिविरको आयोजना गरेजस्तै भयो जिल्ला सदरमुकाममै भएर मैले त थाहा पाएन आम नागरिकले कसरी थाहा पाउने ?’ उनले प्रश्न गरे । आम नागरिकको जानकारीका लागि सञ्चार माध्यममा सूचना दिनुपर्ने उनको भनाई छ ।
यस्तै अमरगढी नगरपालिका–५ का शुनिल तामाङले समेत आफुलाई शिविरबारे जानकारी नभएको बताएका छन् । चिरन्जिवी पोलिक्निकको नजिकै घर भएका उनी भन्छन्, ‘कस्तो शिविर हो सुटुक्क रुपमा हुने ? यता बजार क्षेत्रमा कोरोना त्रास भयावह छ । सरकारले कारोना परीक्षणको शुल्क लिइरहेका बेला निःशुल्क परीक्षण भइरहेको छ भन्ने जानकारी भएको भए धेरैले स्वाब दिनेथिए।’
जानकारीविना आयोजना भएको शिविरको चौतर्फी आलोचना भइरहेको बेला स्वास्थ्य शाखा प्रमुख गणेश विष्ट भने सबैलाई जानकारी दिएको दावी गर्छन् । आफुहरुले जिल्ला प्रहरी र वडाअध्यक्षहरुलाई खबर गरेको उनी बताउँछन् ।