कान्ति बाललाई काठमाडौं महानगरको पिसिआर मेसिन, अब अस्पतालमै पिसिआर परीक्षण हुने
काठमाडौं, १७ कात्तिक । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोभिड–१९ परीक्षण गर्ने पिसिआर मेसिन हस्तान्तरण गरेको छ ।
राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई पिसिआर मेसिन हस्तान्तरण गरेका हुन् ।
महानगरलाई भगिनी सहर चीनको नानजिङले दुईवटा यस्ता मेसिन उपलब्ध गराएको थियो । तीमध्ये एक थान कान्ति बाल अस्पताललाई हस्तान्तरण गरिएको हो ।
मेसिन हस्तान्तरण अघि प्रमुख शाक्यको रोहवरमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका निर्देशक डा. पौडेलले मेसिन लिनेदिने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
मेसिनको मूल्य १० हजार युआन हो । नानजिङ्ले काठमाडौंलाई ६ लाख ७५ हजार युआन मूल्य बराबरका स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
मेसिन हस्तान्तरणका क्रममा प्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा. पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाडौं महानगरपालिकाबाट प्राप्त सहयोगको ठूलो महत्व रहेको बताए ।
पौडेलकाअनुसार अहिले अस्पतालले दैनिक २० देखि ३० जना बालबालिकाको कोभिड परीक्षणका लागि नमूना संकलन गरेर ल्याबमा पठाउने गरेको छ ।
सरकारले मापदण्ड परिवर्तन गरेपछि कान्ति बाल अस्पताल आफैंले पनि कोभिडको उपचार गर्न थालेको छ ।
डा. पौडेलका अनुसार नेपालमा कोभिड–१९ को संक्रमण भएका बिरामीमध्ये करीव ९ प्रतिशत १८ वर्षमुनिका बालबालिका छन् । तीमध्ये १४ वर्षदेखि १८ वर्षसम्मका धेरै छन् भने १० वर्षमुनिका धेरै कम छन् ।