डोटी अस्पतालमा ३ शय्याको हाइ डिपेन्डेन्सी यूनिट बनाइँदै

धनगढी, १४ कात्तिक । जिल्ला अस्पताल डोटीमा हाइ डिपेन्डेन्सी यूनिट (एचडीयू) अर्थात् अक्सिजनसहितको बेड सञ्चालनमा ल्याइने भएको छ । ३ शय्याको एचडीयूका लागि २ वटा भेन्टिलेटर अस्पतालमा पुगाइएको छ ।
एचडीयूका लागि प्रदेश आपुर्ति केन्द्र धनगढीबाट २ वटा भेन्टिलेटर प्राप्त भएको अस्पतालका निमित्त मेसु प्रकाश ठगुन्नाले जानकारी दिए ।
सामान्यतया यस्ता युनिटहरूमा अङ्ग प्रत्यारोपण वा प्रमुख अङ्गको शल्यक्रिया गराएका बिरामीलाई अक्सिजनको सुविधासहितको व्यवस्था गरिएको हुन्छ ।
अस्पतालमा भेन्टिलेटर पुगेपछि छिट्टै हाइ डिपेन्डेन्सी यूनिट सञ्चालनमा ल्याइने मेसु ठगुन्नाले बताए ।
‘एचडीयू भन्नाले आइसियूभन्दा अलि तल्लो स्तरको सेवा हो । जसमा अक्सिजनको सुविधासहितको व्यवस्था हुन्छ । स्थान लगायतको व्यवस्था भएपछि छिट्टै डोटी अस्पतालबाट उक्त सेवा सुरु हुनेछ’ उनले भने ।