नेपालमा कोरोना संक्रमणः महिलाको भन्दा पुरुषमा बढी संक्रमण

काठमाडौं, ११ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण महिलाभन्दा पुरुष बढी संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित एक लाख ५९ हजार ८ सय ८ सय ३० मध्ये एक लाखभन्दा बढी पुरुषमा संक्रमण देखिएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार सोमवारसम्म नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ८ हजार ६ सय ४३ पुरुषमा संक्रमण देखिएको छ । यो दर कुल संक्रमितको ६८ प्रतिशत हो ।
यस्तै कोरोनाका कारण संक्रमित हुने महिलाको संख्या ५१ हजार १ सय ८७ रहेको छ । यो दर कुल संक्रमितको ३२ प्रतिशत हो ।
कोरोना संक्रमण नेपालमा सुरु हुँदादेखि नै महिलाको भन्दा बढी पुरुषमा संक्रमण उच्च देखिएको थियो । विज्ञहरुका अनुसार सुरुमा संक्रमण दर पुरुषमा बढी हुनुको कारण बाहिरबाट आउने नेपालीमा पुरुषको संख्या बढी हुनु थियो ।
हालपनि यो दर महिलाको तुलनामा पुरुषमा बढी किन देखिएको हो भन्ने प्रश्नमा डा.अनुप वास्तोला भन्छन्, ‘नेपालमा अन्य रोगको तुलना गर्दा महिलाभन्दा बढी पुरुषमा जोखिम बढी हुन्छ । कोरोनाको दर पनि त्यसरि नै बढेको हो पुरुषमा । धुम्रपान, मद्यपान, फोक्सोको समस्या लगायत पुरुषमा बढी हुने भएकाले कोरोना संक्रमणको दर पुरुषको तुलनामा महिलामा कम देखिएको हो ।’
डा. वास्तोलाले यो दर पछिल्लो समय महिलामा पनि बढी देखिन थालेको भन्दै समुदाय स्तरमा संक्रमण बढ्दा महिलामा संक्रमण दर बढ्ने बताए । घरपरिवारको आवश्यक सरसामानका लागि बाहिर निस्कने, छरछिमेकमा घुलमिल हुन खोज्दा हाल महिलामा पनि संक्रमण विस्तारै बढ्दै गएको उनको भनाइ छ ।