भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरूषको मृत्यु

चितवन, ११ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरूषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
उनी श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक ५ गते अस्पताल भर्ना भएका थिए । उनमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि स्वास्थ्यमा जटिलता देखिन थालेपछि कात्तिक ९ गतेदेखि उनको कोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
मिर्गौलाको पुरानो बिरामी समेत रहेका उनमा जटिल प्रकृतिको कोभिड निमोनिया समेत देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै भरतपुर अस्पतालमा उपचार गराइएका मध्ये अहिलेसम्म २९ जनाको मृत्यु भएको छ ।
यसैबिच भरतपुर अस्पतालमा उपचाररत ४ सय ८५ जना संक्रमित मध्ये सोमबारसम्म चार सय २३ जना स्वस्थ भएर घर फर्किएका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उपचार गराएका मध्ये ८७ दशमलव २२ प्रतिशत निको भएका हुन् ।
पौडेलका अनुसार हाल अस्पतालमा ३३ जना संक्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।