मुटुरोगीले दशैँको खानपान कसरी गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु
यस वर्षको बडादशैं कोरोना सँगसँगै मनाइरहेका छौं । चाडबाड भएका कारण सावधानी अपनाएर भएपनि घरमै बसेर यस वर्षको दशैं मनाउँदै गर्दा खानपान ठूलो महत्वको विषय हुन्छ । दशैं भन्नासाथ मासुसहितका मिष्ठान्न परिकार खाने भनेर बुझिन्छ । त्यसकारण पनि दशैंमा खानपानलाई जोड दिनुका साथ विशेष सावधानी पनि अपनाउनु आवश्यक हुन्छ ।
पछिल्लो समय पकाउनेदेखि खाने शैलीमा भिन्नता देखिन थालेको छ । तर, दशैंसँग जोडिएका केही कुरा अझै यथावत छन् । अरु, समय खाएर वा पिएर पनि आफ्नो काममा चलायमान हुनेहरु पनि यो समयमा निश्क्रिय बस्छन् । दशैंमा अन्य समय भन्दा बढी मासुसहित चिल्लो–पिरो खाने चलन छ । यस्तै धेरैको प्राथामिकतामा मदिरा तथा धुमपान पर्छ । तर, यसले स्वास्थ्यमा कस्तो असर पार्छ ?साथै कोरोनाको समयमा रोग प्रतिरोधात्मक क्षमतलाई ध्यानमा राखेर पनि यस वर्षको दशैंको खानपान गर्नुपर्ने विज्ञहरु बताउँछन् । कोरोनाले दीर्घरोगीलाई बढी प्रभावित बनाउने हुँदा विशेषगरि मुटुरोगीले आफ्नो खानपानको ध्यान कसरी राख्ने दशैंको समयमा ? मुटुरोग विशेषज्ञ डाक्टर रन्जित कुमार शर्मा यसो भन्नुहुन्छ
रातो भन्दा सेतो मासु खाने
दशैंमा माछा मासुको प्रयोग अत्याधिक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन माछामासुमा पनि दशैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । खसी बोका, राँगा, बँदेल, भेंडा, च्याङ्ग्राको मासुमा धेरैको ध्यान केन्द्रित हुन्छ । यसबेला मासु पकाउन तेल भुटनको प्रयोग पनि बढी हुने गर्छ ।
रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यसले युरिक एसिड बढाउँछ । रातो मासुको सट्टा सेतो मासु खानु लाभदायक हुने कुरा थारैलाई मात्र थाहा छ । कुखुरा, माछा, अष्ट्रिज, इमुलगायतको रातो मासु फाइदाजनक हुन्छ । रातो मासुमा अत्याधिक प्रोटिनका साथै ‘फ्याटी एसिड’ प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई भन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । रातो मासु भन्नाले चारखुट्टेको मासु जनाउँछ भने सेतो मासु भन्नाले कुखुरा वा माछालाई जनाउँछ ।
छालायुक्त मासु नखानुस
छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । सँगै, खसीबोकालगायतका जनावरको छालामा काटिएर रहेका रौं पनि रहन्छ । त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ । अन्डाको भित्री पहेँलो भागमा कोलस्ट्रोलको मात्रा बढी हुने हुँदा सेतो भाग मात्रा खाँदा स्वास्थ्यलाई लाभ मिल्छ ।
ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस
दशैंका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि खानु मधुमेहका रोगीहरुलाई हानिकारक छ ।
सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन । ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन । बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थहरुमा कम्पोजिसन भनेर प्याकेटमा यस्ता कुराहरु लेखिएका हुन्छन् । अलिकति ध्यान दिने हो भने त्यस खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थहरु रहेछन् बुझ्न सकिन्छ ।
मसला घटाउनुस
दशैंको परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाहरुको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्न सक्छन । त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ । अझ दशैंका बेला दीर्घरोगीहरुले स्वास्थ्यको विशेष ध्यान दिन जरुरी छ । दशैंमा मनलाग्दी तवरले खानपिन गर्दा मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीलाई बढी समस्या पर्न सक्छ ।
धुम्रपान र मद्यपान नगर्नुस
दशैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ। मद्यपानले मुटुरोगको खतरा बढाउँछ। झन् रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ ।
दशैं हो भनेर जथाभावी मद्यपान गर्दा सुगरर प्रेसरको समस्या बढ्न सक्छ। मुटुरोगीलाई पनि यसले पटक्कै फाइदा गर्दैन। रक्सीको सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउँछ। जसले मुटुरोग, हृदयाघात र पक्षघात गराउनमा विशेष भूमिका खेल्छ । रक्सी भनेको कार्बोहाइट्रेड हो। त्यसैले शरीरको वजन बढाउन तथा रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ ।
फुड प्वइजनबाट जोगिनुस
यो समयमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अपच भएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ । खानपिनकै कारण दशैं दशा बनेको कतिपय उदाहरण छन्। । चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ ।
तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्छ। बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । चिल्लो, अमिलो, पीरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ। त्यस्तो मासु खाँदा फुड प्वाइजनको सम्भावना बढी हुन्छ । दशैंमा मासु पहिले नै पकाएर राखी बासी बनाएर नखाँदा राम्रो हुन्छ। बासी मासु खायो भने त्यसले फुड प्वाइजनको सम्भावना बढी हुन्छ । यदी समस्या भयो भने अस्पताल जान कोरोनाको जाखिम धेरै छ त्यसैले पहिला नै साबधानि अपनाउँनु पर्छ । ताजा मासु खानु सबैभन्दा उपयुक्त हुने हुन्छ ।
शाकाहारीमा जोड दिनुस, व्यायम गर्नुस
दशैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ । काम कम, माम धेरै गर्नुहुँदैन, शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन । उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात नै हुन्। अंकुरित गेडागुडी र ताजा तरकारी खानु अझ बढी लाभदायक हुन्छ। फापर, कोदो, जौ, मकै लगायतले पनि मुटुलाई फाइदा र्पुयाउँछ ।
मासु खाएपनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रुपमा खानुपर्छ । सँगै, दसैंमा काम नगरी विभिन्न खेलमा रमेर बस्ने, टिभीमै केन्द्रित हुने लगायत अल्छी प्रवृत्ति पनि हुन्छ । त्यसले रोगीहरुको स्वास्थ्य झन बिग्रिन्छ । त्यसैले स्वादमा मात्रै ध्यान नदिएर स्वास्थ्यको पनि राम्रो ख्याल गर्न डाक्टरको सुझाव छ ।