नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति एक वर्षभित्र गठन गर्न तदर्थ समितिलाई निर्देशन

काठमाडौं, ६ कात्तिक । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति एक वर्षभित्र गठन गर्न तदर्थ समितिलाई निर्देशन दिएको छ ।
मन्त्रीपरिषदको सोमवार बसेको बैठकले समाज कल्याण ऐन, २०४९ को दफा २० को उपदफा (१) बमोजिम २०७७÷०४÷१२ मा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति विघटन गरी सोही दफाको उपदफा (२) बमोजिम तदर्थ समिति गठन गरेकोमा कोभिड–१९ को प्रभावसमेतका कारण सो दफाको उपदफा (३) बमोजिमको अवधिभित्र नयाँ कार्य समितिको निवार्चन हुनसक्ने अवस्था नरहेको बताएको छ ।
बैठकको निर्णय बिहीवार सार्वजनिक गर्दै सरकारले नेपाल रेडक्रस सोसाइटीको कामकाज यथावत सुचारु गर्न आवश्यक भएकोले सो तदर्थ समितिले एक वर्षभित्र नयाँ कार्यसमिति गठन गर्ने निर्णय भएको बताएको छ ।
नयाँ कार्यसमिति गठन नभएसम्मका लागि तदर्थ समितिले सो संस्थाको नियमित कार्यसञ्चालन गर्ने गरी समाज कल्याण ऐन, २०४९ को दफा २४ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बाधा अड्काउ हटाउने आदेश जारी गर्ने पनि निर्णय भएको छ ।
आदेशको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्नुपर्ने छ ।