सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो

धनगढी, ५ कात्तिक । धनगढीका दुई सहित सुदूरपश्चिम प्रदेशका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो ।
सेती अस्पतालका अनुसार असोज २८ गते संक्रमण पुष्टि भएका धनगढी २ का ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।
उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ भने अर्को ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । १५ दिन अगाडी सेती अस्पतालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो । अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएका उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत नेपाली कांग्रेस डोटीका नेता तेज पुनको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । केआईसिंह गाउँपालिका–४ वायलका ५० वर्षीय पुनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । मंगलबार उपचारका लागि आएका उनको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । पुन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहनुभएको थियो ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।