कोरोना संक्रमितको शव व्यवस्थापन तिलोत्तमा नगरपालिकाले आफै गर्न थाल्यो



Download our app to get more features

रुपन्देही, ५ कात्तिक । कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले आफै शव व्यवस्थापन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमाले भने बुधबारदेखि आफैले शव व्यवस्थपन गर्न थालेको हो । नगरस्तरीय  कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका वडा न ५ निवासी ४७ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिनदेखि होम आइसोलेसनमै रहेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान क्रिमशन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

मृत्यु भएपछि शंकरनगर सामुदायिक वन क्षेत्रमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले शव व्यवस्थापन गरेको सिनियर अहेव अधिकृत गौतमले बताए । यो सँगै तिलोत्तमामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

हालसम्म तिलोत्तमाका ७ सय २६ जनालाई कोरोना संक्रमण भएकोमा ३ सय ९३ जना निको भएका छन् भने ३ सय २५ जना सक्रिय संक्रमित छन् ।  तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts