आईसीयूमा बेड खाली छैन, सङ्क्रमितको उपचार आकस्मिक कक्षमा

काठमाडौं, ४ कात्तिक । काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भइरहेका छन् ।
हरेक दिन भेन्टिलेटर र आईसीयूका बिरामीलाई राम्रो हुँदा आइसोलेशनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डाक्टर सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । शय्या खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आईसीयूमा सार्ने गरिएको उनले बताए ।
अस्पतालको आइसोलेशन र आईसीयू अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा. राजभण्डारीले भनेकाछन् । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उनका अनुसार आईसीयूमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेशनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिँदै आएको छ ।अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उनले बताए ।
उनले भने, लक्षणसहितका अरु बिरामीले पनि अस्पतालमा भर्ना हुन चाहे पनि हामीले गम्भीर बिरामी मात्रै लिने गरेका छौँ ।ु उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा. राजभण्डारीले बताए । उनका अनुसार अस्पतालले केही शय्या बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउन सक्ने अवस्था छैन ।
अरु समस्या हुँदाजस्तो नभएर कोभिडका बिरामीलाई दुरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । अस्पतालमा केही समय पहिले दुई भेन्टिलेटर थपिएको थियो । अहिले ६ आइसोलेशन शय्या, चार आईसीयू र एक भेन्टिलेटर थप गर्न लागिएको जानकारी दिएकाछन् ।
अस्पतालमा परीक्षण गराएर पोजेटिभ रिपोर्ट आएपछि धेरै सङ्क्रमितले मलाई यही राख्नुपर्छ भन्दै झगडा गर्ने गरेको निर्देशक डा. राजभण्डारीले बताए । अस्पतालले अक्सिजन नै चाहिने प्रकृतिका सङ्क्रमित मात्रै राख्ने बताएपछि उनीहरु झगडा गर्न आउने उनको भनाइ छ । कतिपयले अस्पतालमा स्वास्थ्यकर्मीलगायत कर्मचारीसँग झगडा गर्न आउने गर्छन् । अस्पतालले भर्ना गर्ने भनिएका प्रकृतिका गम्भीर बिरामीलाई समेत भन्नासाथ लिन सकिने अवस्था नभएको उनको भनाइ छ ।
एकातिर अस्पतालका सबै शय्यामा खचाखच बिरामी र अर्कातिर कार्यरत कर्मचारीलाई पनि समय समयमा सङ्क्रमित हुँदा व्यवस्थापन गर्न कठिन भइरहेको निर्देशक डा. राजभण्डारीले बताए । भर्ना भएका सबै बिरामीलाई हेर्नुपर्ने भए पनि जनशक्ति कम भएको छ । अस्पतालमा अहिले तालिम प्राप्त नर्सको कमी छ । एउटा भेन्टिलेटरमा एक जना नै तोकिएको मान्छे राख्नुपर्ने उनले बताए । एउटै व्यक्तिले नियमित गर्न नसक्दा फरक शिफ्टका लागि फरक–फरक जनशक्ति चाहिन्छ । कर्मचारीलाई सङ्क्रमण भएर आइसोलेशनमा हुँदा त्यो ठाउँमा अर्को कर्मचारी खटाउनुपर्छ ।
नेपालमा कोभिड–१९ को सङक्रमण सुरु भएसँगै यो अस्पतालमा परीक्षणका लागि आउनेको पनि भिड छ । कहिले घरबेटीले घरमा फर्कन नदिएकाले त कहिले कार्यालयमा जानका लागि नागरिक परीक्षणका लागि आउने गरेका छन् । अस्पतालले ‘क्राइटेरिया’ मिलेकाको मात्रै परीक्षण गर्दै आएको छ ।
कोभिडसँग मिल्दा लक्षण भएका वा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्ने व्यक्तिको परीक्षण गरिँदै आइएको उनले जानकारी दिनए । ‘कन्ट्याक ट्रेसिङ’ मा परेका व्यक्तिको भने वडा कार्यालयको समन्वयमा परीक्षण हुँदै आएको छ । कतिपय व्यक्ति कागजका लागि रिपोर्ट चाहिएकाले गर्न आउँदा भने पैसा तिरेर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ ।
सरकारी अस्पताल भएकाले र सबैलाई सहज पहुँच भएकाले सङ्क्रमित यहीँ उपचारका लागि आउन चाहने धेरै छन् । आर्थिकरुपमा विपन्न व्यक्तिले विशेष गरी लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यहीँ आउने चाहेको अस्पतालले जनाएको छ ।
अस्पताल कोभिड–१९ को उपचारमा केन्द्रित हुँदा अरु किसिमका सरुवा रोगमा त्यसको असर परेको निर्देशक डा. राजभण्डारीले बताए । । यहाँ उपचारका लागि आउने अरु सरुवा रोगका बिरामीलाई अरु अस्पतालमा सारिएको छ । एचआईभी एड्स, क्षयरोग, डेङ्गु, कालाजारलगायत सरुवा रोगका औषधि खाइरहेका बिरामीले अहिले यहाँबाट उपचार पाएका छैनन् । अरु सरुवा रोग लागेका व्यक्तिलाई कोभिड देखिँदा मात्रै यहाँ उपचार हुन्छ । अरु सरुवा रोगका नियमित औषधि खाइरहेका व्यक्ति, पनि जोखिम वर्गमा पर्ने उनले बताए ।