चितवनको खैरहनी नगरपालिकाका वडासदस्यको कोरोना संक्रमणबाट मृत्यु

चितवन, १ कात्तिक । भरतपुर अस्पतालमा उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिकाका वडासदस्यको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–१२ का वडासदस्य बद्रीबहादुर पाण्डे रहेको खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले जानकारी दिए ।
४९ वर्षीय उनको आज बिहान १ः४५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । उनी खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए । उनमा बुधवार नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि कोभिड आईसियूमा राखेर भेन्टिलेटरको सहायताले उपचार गरिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
क्यान्सरको बिरामी समेत रहेका उनमा जटिल प्रकृतिको कोभिड निमोनिया समेत देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै भरतपुर अस्पतालमा उपचार गराइएका मध्ये अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा केही अन्य अस्पतालबाट रिफर भएर आएका त केही अन्तिम अवस्थामा अस्पताल आएका मध्ये बढी छन् ।
यो समेत गरी जिल्लाका संक्रमित मध्ये ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।