यो बेला आफूसँग जे छ, त्यसैले काम चलाउन मन्त्रालयको आग्रह

काठमाडौं, ३० असोज । सरकारले नेपालका धेरै सहरहरुमा आइसोलेशन बेड र आईसीयू पाउन मुस्किल पर्न थालेकोले आफ्नो स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दा उपचारमै कठिनाइ हुन थालेकोले आफूलाई सङ्क्रमण हुनबाट बचाउनु भनेकाछन् ।
प्रवक्ता गौतमले अहिले बजारमा सामान किन्नेहरुको भिड देख्दा अचम्म लागेको र यो क्रमले झनै समस्या निम्त्याउने बताए । उनले भने, सरकारलाई यसले चिन्तित बनाएको छ ।
विभिन्न छुटको नाममा मानिसको भिड बढाउने व्यापारी र यस्तो बेलामा सामान किन्न जाने मानिसहरु कोरोना फैलाउने कारण बनिरहेको भन्दै मन्त्रालयले यो बेला आफूसँग जे छ, त्यसैले काम चलाउन पनि आग्रह गरेको छ ।
प्रवक्ता गौतमले नजिकिँदो दशैँ पर्व घरका सदस्य मात्रै बसेर मनाउन आग्रह गरे। यस्तै टोल छिमेकमा कोही नयाँ व्यक्ति आएमा कम्तीमा सात दिन क्वरेण्टीन अनिवार्य गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।