चितवनमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार नाघ्यो



Download our app to get more features

चितवन, ३० असोज । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ वर्षीय बालकसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार गरिएको परीक्षणको नतिजा अनुसार चितवनका ५१ जनासहित अन्य जिल्लाका समेतगरी थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार संक्रमित हुनेमा ३१ जना पुरूष र २४ जना महिला रहेका छन् । राप्ती नगरपालिकामा सबैभन्दा बढी ११ पुरूष र ९ महिला गरी २० जना छन् । भरतपुर महानगरपालिकामा १७ जना छन् । जसमा ३ वर्षीय बालक समेत छन् । त्यस्तै, खैरहनी नगरपालिकामा महिला र पुरूष समान ४÷४ जना छन् । बाँकी ६ जना चितवनका विभिन्न पालिकाका छन् ।

त्यस्तै अन्य जिल्लाका कोरोना संक्रमण पुष्टि हुनेहरूमा चार जना छन् । बिहीवार प्रयोगशालामा ३ सय ५ वटा नमुना परीक्षण गरिएको मध्ये ती ५५ जनामा संक्रमण देखिएको हो । बाँकी २ सय ५० वटा नमुनाको नतिजा भने नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. अधिकारी बताइन् ।

उनीहरूको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा स्वाब आरटी पिसिआर विधिबाट परीक्षण गरिएको हो । 

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिहीवार दिउँसोसम्म जिल्लामा संक्रमितको संख्या दुई हजार ९ सय ५८ जना पुगेको थियो । त्यसपछि संक्रमण पुष्टि भएका समेत गरी अहिले संक्रमितको संख्या तीन हजार नाघेको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म एक हजार ७ सय ९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ३९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २५ जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts