प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पूर्ण स्वचालित मेसिन जडान
एक पटकमा २४ वटा नमूना परीक्षण गर्न सकिने

रुपन्देही, ३० असोज । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना भाइरसको परीक्षणका लागि पूर्ण स्वचालित मेसिन जडान गरिएको छ । योसँगै लुम्बिनी प्रदेशमा कोरोना परीक्षण गर्ने स्वचालित मेसिनको संख्या तीन पुगेको छ ।
स्वचालित आरएनए एक्सट्रयाक्सन मेसिनबाट पिसिआर परिक्षण गर्दा एक घण्टामा रिपोर्ट तयार हुन्छ । म्यानुअली आरएनए एक्सट्रयाक्सन गर्दा ६ घण्टा समय लाग्थ्यो । प्रयोगशालामा जडान भएको स्वचालित मेसिनले एक पटकमा २४ वटा नमूना जाँच गर्न मिल्छ । म्यानुअलको तुलनामा स्वचालित मेसिनले जनशक्ति र समय दुबै कम लाग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका इञ्चार्ज प्रेम यादवले जानकारी दिए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले एक पटकमा ९६ वटा पिसिआर जाँच गर्न मिल्ने पूर्ण स्वचालित मेसिनको समेत खरिद सम्झौता गरिसकेको छ । विश्व बजारमा प्रयोगमा आएका नयाँ प्रविधियुक्त उपकरणहरु प्रयोगशालाहरुमा जडान गर्दै जाने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । दायरा बढाउन म्यानुअल र स्वचालित दुबै मेसिनले परिक्षण भैरहेको र दशैँ अघि संक्रमण भएका सबै व्यक्तिलाई पहिचान गरेर संक्रमण समुदाय स्तरमा फैलिन रोक्ने मन्त्री बरालको दावी छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले ६ सयभन्दा बढी नमूना पेन्डिंगमा छ । पूर्ण स्वचालित मेसिनले परिक्षण थालेपछि त्यो संख्या कम हुने प्रयोगशालाले जनाएको छ । अहिलेसम्म प्रयोगशालामा ३० हजार बढी नमूना परीक्षण भएको बताइएको छ । लुम्बिनी प्रदेशमा ६ वटा सरकारी र दुई वटा निजी प्रयोगशालाबाट पिसिआर परीक्षण भैरहेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरि तीनवटा पूर्ण स्वचालित मेसिन छन् ।
प्रदेश प्रयोशालालाई संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले मेसिन उपलब्ध गराएको हो ।