१५ दिनमा आईसीयूमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या ४२ प्रतिशतले बढ्यो

काठमाडौं, २९ असोज । कोरोना संक्रमणका कारण आईसीयूमा भर्ना हुने बिरामीको संख्या १५ दिनमा झन्डै ४३ प्रतिशतले वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार असोज १५ देखि असोज २९ सम्ममा कोरोना भाइरस संक्रमणका कारण बिरामी भएकामध्ये आईसीयूमा भर्ना हुने बिरामीको संख्या ४२ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ ।
असोज १५ मा नेपालभर २ सय २० जना आईसीयूमा उपचाररत थिए भने असोज २९ मा त्यो संख्या ३ सय १४ पुगेको छ ।
प्रदेशगत हेर्ने हो भने असोज १५ मा प्रदेश १ मा २० जना, प्रदेश २ मा १८ जना, बागमति प्रदेशमा १ सय ८ जना, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५२ जना, कर्णाली प्रदेशमा १५ जना सुदूरपश्चिम प्रदेशमा मात्रै एक जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको थियो भने असोज २९ मा प्रदेश १ मा ३६ जना, प्रदेश २ मा १९ जना, बागमति प्रदेशमा १ सय ७५ जना, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५४ जना, कर्णाली प्रदेशमा १८ जना सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।
यस्तै भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या भने झन्डै १ सय ७२ प्रतिशतले बढेको छ । मन्त्रालयको १५ दिन अघिको अद्यावधिक विवरण अनुसार नेपालभर २५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत थिए भने असोज २९ मा त्यो संख्या ६८ पुगेको छ ।
असोज १५ मा प्रदेश १ मा ३ जना, प्रदेश २ मा शून्य जना, बागमति प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा शून्य, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा शून्य संख्या थियो भने असोज २९ मा प्रदेश १ मा ६ जना, प्रदेश २ मा १ जना, बागमति प्रदेशमा ५६ जना, गण्डकी प्रदेशमा शून्य, लुम्बिनी प्रदेशमा २ जना, कर्णालीमा शून्य र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा ३ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।
यसरी हेर्दा नेपालमा कोरोना संक्रमितको दर जुन प्रदेशमा धेरै छ त्यस प्रदेशमा कोरोना संक्रमितहरु बिरामीहरु आईसीयू र भेन्टिलेटरमा भर्ना हुने दर पनि बढेको छ ।